माघ १ गतेदेखि बैंकहरू अनिवार्य ‘गो-एएमएल’ मा जानुपर्ने, नगए कारवाही हुने

  २०७६ मंसिर २३ गते १३:४८     विकासन्युज

काठमाडौं । बैंकहरूले सम्पत्ति शुद्धीकरण निवारणमा जान आलटाल गरेपछि राष्ट्र बैंकले समयनै तोकेर ‘गो-एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो-एएमएल’ मा जान निर्देशन दिएको हो ।

सम्पत्ति शुद्धिकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण राष्ट्र बैंकले गो-एएमएलको व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यदि बैंकहरू माघ १ पछि पनि गो-एएमएल सफ्टवेयर सिष्टम अनिवार्य रूपमा कार्यान्वयनमा ल्याएनन् भने कारवाही गर्ने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

‘माघ १ गतेसम्म सफ्टवेयर जडान नगर्ने बैंकहरूलाई जरिवाना गरिन्छ,’ उनले भने ‘बैंकहरूले यसका लागि आन्तरिक तयारी गरिरहेका छन् । कति बैंकले त अहिले नै गो-एएमएल सफ्टवेयरको परीक्षण समेत गरिरहेका छन् ।’ बैंकहरूले राष्ट्र बैंकले निर्देशन गरे बमोजिम तोकेको समय सीमाभित्र गो-एएमएल सफ्टवेयर लागू गर्ने गरी तयारी गरिरहेको नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले बताए ।

‘सम्पत्ति शुद्धीकरण निवारणको विषयलाई राष्ट्र बैंकले धेरै पहिलादेखि महत्वका साथ उठाइरहेको छ,’ उनले भने ‘त्यसैले राष्ट्र बैंकले तोेकेकै समयभित्र सफ्टवेयर जडान गर्ने तयारी बैंकहरूले गरिरहेका छन् ।’ राष्ट्र बैंकको नीति र विश्व परिवेशअनुसार त्यसैपनि बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य रुपमा डिजिटलाइजेसनमा जानुपर्ने वाध्यता छ ।

‘गो-एएमएल’ सफ्टवेयर कार्यान्वयनमा आएपछि बैंकहरूले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्ने छ । गो-एएमएलको सिष्टमअनुसार चेक जम्मा गर्नेको नाम, ठेगाना, सम्पर्क नम्बरदेखि अन्य विवरण पनि भर्नुपर्ने हुन्छ । सो नयाँ सिष्टमअनुसार बैकिङ कारोेबार गर्न माघ १ गतेबाट बैंकले चेक तथा नगद जम्मा गर्ने फारम समेत नयाँ बनाउनु पर्ने भएको छ ।

अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको मात्र विवरण माग्ने गरेको छ । गो-एएमएल सिष्टममा गएपछि १० लाखभन्दा बढी रकम दिनभरिमा विभिन्न शाखा र समयमा चेक डिपोजिट भए पनि सिष्टमले सहजै देखाउँछ । बैंकहरू दिनभर गर्ने सबै कारोबारको विवरण बैंकहरूको कोर बैंकिङ सिस्टम हुँदै गो-एएमएलमा जोडिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.