सबैभन्दा ठूलो करदाता बनेर माला लगाउने रहर छ, मेराे नाफा गर्वसाथ भन्न पाउनुपर्याे-पशुपति मुरारका

  २०७६ मंसिर २३ गते ११:१८     विकासन्युज

विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ५ देखि ७ प्रतिशतको बीचमा छ । लगातार उच्चदरको आर्थिक वृद्धिले नेपालीमा जुन उत्साह ल्याउनु पर्ने हो, त्यस्तो देखिन्न । उद्योग व्यवसायीसँग कुरा गर्दा उच्चदरको आर्थिक वृद्धिले खुशी ल्याएको अनुभूति गर्न सकिदैन । आखिरी किन ? नीजि क्षेत्र किन असन्तुष्टि व्यक्त गर्दै छ ? प्रस्तुत छ देशको व्यवसायिक वातावरण र नेपाल उद्योग वाणिज्य महासंघ भित्रको झै झगडाको विषयमा केन्द्रीत मुरारका ग्रुपका अक्ष्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस ।

लगातार ६/७ प्रतिशतको आर्थिक वृद्धि नेपालीलै पहिलो पटक देख्न र भोग्न पाएका छन् । डुइङ विजनेश रिपोर्टले नेपालमा लगानीको वातवरणमा सुधार आएको जनाएको छ । तर उद्योगी व्यवसायीहरु खुशी देखिदैनन्, निराशाजनक कुरा मात्र गर्छन्, किन यस्तो भईराखेको छ ?

मलाई लाग्छ २०४८/४९ सालतिर पनि नेपालको आर्थिक वृद्धि यस्तै थियो । राम्रो कुरा यो हो कि २५/२६ वर्षपछि बल्ल नेपालको आर्थिक वृद्धिदर सन्तोसजनक अवस्थामा छ । डुइङ विजनेश इन्डेक्स रिपोर्ट राम्रो आएको छ । त्यो आफ्नो ठाउँमा छ ।

तर अहिले सेयर मार्केट खस्केको छ । व्यापार खस्केको छ । नयाँ उद्योग आउन सकेको छैन । म आफै संलग्न भएको निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले क्षमताभन्दा निकै कम उत्पादन गरिरहेका छन् । मेरो विचारमा निर्माण सामाग्रीको खपत जति बढी हुन्छ, विकास निर्माणको काम त्यति नै धेरै हुन्छ । रोजगारी पनि सिर्जना हुन्छ ।

सिमेन्ट, रड लगायत निर्माण सामाग्रीको बजार कस्तो छ ?

अहिले निर्माण सामाग्रीको उत्पादन तथा बिक्री वितरणको वृद्धि छँदैछैन । कति घटेको छ भन्ने एकिन तथ्याङ्क छैन । तर मैले साथीहरुसँग कुरा गर्दा कसैले पनि वृद्धि भएको कुरा गर्नुहुन्न । कसैले २५ प्रतिशत उत्पादन तथा बिक्री घटेको छ भन्नुहुन्छ । कसैले १० प्रतिशत घटेको छ भन्नुहुन्छ । केही नयाँ उद्योग आएकाले उनीहरुले केही बजार हिस्सा लिएका छन् । त्यसले पनि पुराना कम्पनीको थोरै हिस्सा लिएका छन् । समग्रमा बजार विस्तार भएको छैन ।

उत्पादन मात्र घटेको छैन । मूल्य पनि १५/२० प्रतिशतले घटेको छ । अवस्था यस्तो छ कि धेरै सिमेन्ट उद्योग र स्टील उद्योगहरु घाटामा चलेका छन् । घाटामा नहुने उद्योगहरु पनि मुस्किलले बराबरीको अवस्थामा छन् ।

निर्माण सामाग्रीको अहिलेको मूल्यलाई घटेको भन्ने कि भूकम्पपछि अस्वभाविक मूल्य वृद्धि भएको थियो, अहिले बजार सच्चिएर ठिक ठाउँमा आयो भन्ने ?

भूकम्पपछि मूल्य बढ्यो नभनौं । त्यतिबेला माग र आपूर्तिले मूल्य निर्धारण गरेको हो ।

भूकम्पपछि पुर्ननिर्माणको क्रममा एक बोरा सिमेन्टको लागि १०५० देखि ११०० रुपैयाँसम्म हाल्नुपर्यो उपभोक्ताले । त्यतिबेला त उद्योगीले पनि अचाक्ली गरेका हुन् नि ?

त्यति पैसा कुनै पनि उद्योगले कहिल्यै पनि लिएनन् । त्यो बेलामा माग धेरै तर आपूर्ति कम थियो । त्यतिबेला सरकारी उद्योगले समेत फ्याक्ट्री प्राइस ९६० रुपैयाँसम्म बनाएको थियो । त्यसमा ढुवानी लागत बढ्छ । बिक्रेताले मार्जिन राख्छ । त्यतिबेला ढुवानी लागत पनि बढी थियो । बिक्रेतालाई हामीले यतिभन्दा धेरै पैसा नलिएकाे भन्न मिल्दैन । कसले कतिमा बेच्छ उद्योगीले जिम्मा लिन पनि सक्दैन । २ वर्षयता सिमेन्टको मूल्य २० देखि २५ प्रतिशतले घटेको छ ।

बिक्री परिणाम र मूल्य दुबै घट्दा उद्योगीले कसरी व्यवस्थापन गरिरहेका छन् ?

खर्च कटौती एउटा पाटो भयो । अहिले उद्योगीको मार्जिन पनि घटेको छ । बिक्रेताको मार्जिन पनि अहिले घटेको छ ।

एउटाले जे काम गर्यो सबैले त्यहि फलो गर्ने नेपालीको कल्चर छ । सबै गरेर करिब ५५ उद्योग छन् । १०/१२ वटा उद्योग जसले आफै क्लिङकर पनि उत्पादन गर्छन, यी कम्पनीमा ठूलो लगानी छ । कर्जाको व्याज र डेप्रिसिएसन कष्ट ठूलो आउँछ । पुराना कम्पनीको कर्जा पनि कम होला, डेप्रिसिएसन पनि कम होला । नयाँ कम्पनीको लागि दुबैको कष्ट बढी छ । त्यसैले पुराना कम्पनीलाई भन्दा नयाँ कम्पनीलाई बढी कठिन देखिन्छ ।

के यहि संकटले सिमेन्ट उद्योगहरु बन्द हुँदैछन् ?

केही उद्योगहरु समस्यामा छन् भन्ने मेरो जानकारीमा छ । बैंकको व्याज र किस्ता नियमित हुन नसकेको, कर्मचारीलाई नियमित तलव खुवाउन नसक्ने अवस्था आउन लागेको संकेतहरु देखिएका छन् । मलाई लाग्छ, अगामी असार मसान्तसम्ममा धेरै कुरा बाहिर आउँछ ।

बिक्रेताहरुले उद्योगलाई भुक्तानी दिन नसक्ने अवस्थामा पुगेका हुन् ?

निर्माण सामाग्रीको बजारमा पहिला उद्योगी हावी थिए । अहिले बिक्रेता हावी भएका छन् । बिक्रेताले उद्योगलाई पैसा भुक्तानी गरेपछि मात्र माल पाउने अवस्था थियो । पछि एक महिनासम्मको लागि उधारो चल्याे । उधारोको समय अहिले ९० दिनसम्म पुगिसक्यो । बिक्रेताबाट पेमेन्टमा डिले भईरहेको छ ।

सिमेन्टको गुणस्तरको मापदण्ड बनाउने सवालमा उद्योगीहरु बीचको विवाद के हो ?

गुणस्तरको मापदण्ड बनाउने आधार दुईटा हुन्छ । कि आफैले खोज अनुसन्धान गरेर नयाँ मापदण्ड बनाउनुपर्छ । त्यसको लागि नेपालमा सिमेन्ट रिसर्च सेन्टर नै छैन । कि अरुले बनाएको मापदण्डलाई कपी गर्ने हो । अरुको मापदण्ड कपी गरेर, त्यसमा फेरी यो यति बढाउँ, त्यो यति घटाउँ भन्ने कुरा गर्नु भएन ।

विश्वमा सर्वाधिक सिमेन्ट उत्पादन गर्ने भनेको छिमेकी देश भारत र चीन हुन् । विश्वमा जति सिमेन्ट उत्पादन हुन्छ त्यसको ५० प्रतिशत चीनले र १५ देखि २० प्रतिशत भारतले उत्पादन गर्छ । हामीले कि भारतले कि चीनले बनाएको मापदण्ड प्रयोगमा ल्याउँदा राम्रो हुुन्छ । मलाई के लाग्छ भने हामीले क्रमशः सिमेन्ट निर्यात गर्ने भनिरहेका छौं । निर्यात गर्ने भनेको भारतमा नै हो । त्यसको लागि भारतले बनाएको मापदण्ड प्रयोग गर्यौ भने अहिले पनि हुन्छ, निर्यात गर्ने बेलामा पनि हुन्छ । भारतले पनि व्रिटिश स्ट्याण्डर्ड कपी गरेको हो ।

गुणस्तरको मापदण्ड बनाउने तर्फ गुणस्तर तथा नाप तौल विभागले केही काम गरेको थियो । अहिले त्यो काम अगाडि बढेको छैन भन्ने सुनेको छु ।

तपाई सिमेन्ट उद्योगमा मात्र हुनुहुन्न । अरु क्षेत्रको अवस्था कस्तो छ ?

त्यति राम्रो छैन । स्टील उद्याेगमा पनि मन्दी छ । पेन्ट्सको विजनेश पनि घटेको छ । अटोमोबाइलको सेल्स पनि घटेको छ ।

तपाईले बैकिङ क्षेत्रमा पनि लगानी गर्नुभएको छ । एकातिर उद्योग व्यापारीहरु कर्जाको व्याज घटाउनुपर्छ भनेर सडकमा आए । त्यसपछि निक्षेपको व्याज पनि १० प्रतिशतभन्दा कम भयो । बैंकहरुको नाफा वृद्धिदर ६ प्रतिशतमा सीमित देखिएको छ । यसबारे तपाईको धारणा के हो ?

निक्षेपको व्याजदरमा नियन्त्रण गर्ने/सीमा तोक्ने तर कर्जाको व्याजदर खुला राख्ने काम पनि गलत हो । निक्षेपको व्याजमा कार्टेलिङ गर्नेले कर्जाको व्याजमा खुला राख्न मिल्छ ? यो पनि खुला अर्थतन्त्र हो ?

बैंकमा मेरो धेरै ठूलो लगानी छैन । बैंकहरुले निक्षेपको व्याज घटाए तर कर्जाको व्याज घटाएनन् । अर्को कुरा, सडकमा आन्दोलन गरेर बैंकको व्याज तोकिनु पनि हुँदैन । व्याजदर घटाउन भनेर सडकमा आन्दोलन गर्नु नै गलत थियो । व्याज घटाउनु पर्छ भनेर म सडकमा गइन । जो जो गए, उनीहरुकाे विचारमा मेरो सहमति छैन । व्याजदर बजारले नै तय गर्ने हो । फेरी, निक्षेपको व्याजदरमा नियन्त्रण गर्ने/सीमा तोक्ने तर कर्जाको व्याजदर खुला राख्ने काम पनि गलत हो । निक्षेपको व्याजमा कार्टेलिङ गर्नेले कर्जाको व्याजमा खुला राख्न मिल्छ ? यो पनि खुला अर्थतन्त्र हो ?

नाफा वृद्धिदर ६ प्रतिशत सीमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन । मैले उद्योगको क्षमता एक हजार टनबाट दुई हजार टन बनाउँदा मेरो नाफा सोही अनुसार वृद्धि हुनुपर्छ भनेर अपेक्षा गर्नुहुन्छ । बैंकहरुको पुँजी दुई वर्षमा ४ गुणा बढेको छ भने इपीएस पहिला जत्तिकै हुुनुपर्छ भन्नु पनि हुन्न । त्यो असम्भव कुरा हो ।

बैंकहरुमा तपाईको सेयर लगानी कति छ ?

धेरै छैन ।

जति छ, त्यति भन्दा के बिग्रन्छ ?

आज एक्स प्राइस छ । भोलि वाई प्राइस होला । दिनदिनै फरक पर्छ ।

आजको दिनमा सूचीकृत कम्पनीहरुको सेयरमा तपाईको लगानी कति हो ? जेफ बेजोन, विल गेट्स, वारेट वफेट, ज्याक मा, विनोद चौधरीको सम्पत्ति यति भनेर सार्वजनिक गर्दा हुने, पशुपति मुरारकाको सम्पत्ति सार्वजनिक हुन नहुने ? 

त्यो फोब्ले भनेको हो । विल गेट्स वा विनोद चौधरीले मेरो सम्पत्ति यति भनेर भनेका छैनन् । नेपालको कुनै पत्रिकाले पशुपति मुरारकाको सम्पत्ति यति भनेर सार्वजनिक गर्छ भने म त्यसको विरोध पनि गर्दिन, मेरो समर्थन पनि हुँदैन । म चाहान्छु कि मेरो लगानी कति छ, नाफा कति छ, घाटा कति छ ? सबै सार्वजनिक गर्न चाहान्छु तर वातावरण ठिक छैन ।

मिडियाको तर्फबाट हामी विजनेश कम्यूनिटिबाट दुईटा कुरा चाहान्छौ । नेपालका ठूलो व्यवसायीहरुमा कसको सम्पत्ति कति छ ? कसले कति कर तिरे ? यी दुई कुरा सार्वजनिक गर्दा तपाईहरुलाई कहाँ नराम्रो हुन्छ ?

तपाईले भनेको कुरा एकदम सहि हो । मैले धेरै पटक भनेको छु कि मैले कति नाफा गरे, गर्व साथ भन्नु पाउनुपर्यो । नाफासँगै कर कति तिर्नुपर्छ, त्यो आईहाल्छ । जसरी अहिले सूचीकृत कम्पनीले त्रैमासिक रुपमा वित्तीय विवरण पत्रिकाबाट सार्वजनिक गर्छन्, त्यो मैले पनि गर्न पाउनुपर्यो ।

सार्वजनिक गर्नु न त । अर्घाखाची सिमेन्टलाई पब्लिक बनाउनुहोस्, पशुपति पेन्टस्लाई पब्लिक बनाउनुहोस् । नेप्सेमा लिष्टिङ गर्नुहोस् । के ले रोक्यो तपाईलाई ?

नेप्सेमा लिष्टिङमा जानै परेन । नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुले पनि आर्थिक प्रतिवेदन बनाएका हुन्छन् । सबै आयव्यय हिसाव कर कार्यालयलाई बुझाएका हुन्छन् । तर त्यसलाई हामीले सार्वजनिक गर्न सकेका छैनौ । किनभने हाम्रो समाजले नाफालाई स्वीकार गर्न सकेको छैन । कम्पनी नाफामा जाँदा, लगानीकर्ताले बोनस लिन पाउँदा समाज खुशी हुन सकेको छैन । सबैभन्दा बढी कर तिरेर फूलमाला लगाउन मलाई पनि रहर छ । सबैलाई रहर हुन्छ । आज धेरै कर तिर्नेलाई सम्मान गर्ने अभ्यासको शुरुवात भएको छ । तर उसको कम्पनीले कति नाफा गरेको छ भन्ने कुरा अझै सार्वजनिक गरिदैन । किनभने नाफा धेरै देख्ने वित्तिकै यहाँ धेरै समस्या सिर्जना गरिन्छ ।

तपाईले पनि एक पटक टप ट्याक्स पेयर अवार्ड पाउनु भएको थियो । त्यसपछि तपाईको नाम आउन छोड्यो, किन ?

केही विजनेश डाईभर्सिफाइ भयो । केही नाफा पनि घट्यो । नाफा घटेपछि कर पनि स्वतः घटिहाल्यो । मेरो बुझाइमा टप ट्याक्स पेयरको क्यालकुलेशन पनि ठिक छैन । भ्याट, भन्सार, अन्तशुल्क बढी तिर्नेलाई टप ट्याक्स पेयर मान्न मिल्दैन । त्यो त उपभोक्ताले तिरेको पैसा हो । आय करका आधारमा मात्र टप ट्याक्स पेयर सम्मानित हुनुपर्ने हो । मैले आलोचना गर्न खोजेको होइन, जस्ट मेरो दिमागको कुरा गरेको ।

मेरो बुझाइमा टप ट्याक्स पेयरको क्यालकुलेशन पनि ठिक छैन । भ्याट, भन्सार, अन्तशुल्क बढी तिर्नेलाई टप ट्याक्स पेयर मान्न मिल्दैन । त्यो त उपभोक्ताले तिरेको पैसा हो । आय करका आधारमा मात्र टप ट्याक्स पेयर सम्मानित हुनुपर्ने हो ।

उद्योग, व्यापार र सेवा क्षेत्र सबैतिर लगानी गर्नुभएको छ । बढी नाफा कुन क्षेत्रमा छ ?

नाफा भन्दा पनि सन्तुष्टि कहाँ छ भन्ने कुरा आउँछ । हामी बाबुबाजेको पालादेखि नै उत्पादन मुलक उद्योगमा थियौं । हाम्रो दिमाग उद्योगमा नै केन्द्रीत भयो । तर अहिले रिग्रेट (पश्चाताप) हुन्छ कि किन हामी उद्योगमा गयौं । व्यापार गर्नेले नाफा धेरै गरे । घाटा हुन थाल्यो भने छोड्न सजिलो भयो । जोखिम कम भयो । तर व्यापारमा सन्तुष्टि हुँदैन । उद्योगमा सन्तुष्टि छ तर नाफा छैन । बैकिङ, बीमा लगायत सेवा क्षेत्रको सेयरमा २५ वर्ष लगानी गर्नेको अहिले बुक भ्यालु जति छ, त्यति उद्योगमा लगानी गर्नेको छैन ।

सेयरको बुक भ्यालु भन्दा उद्योग लगाउनको किनेको जग्गाको मूल्य धेरै बढेको छ नि ?

जग्गाको मूल्यको कुरा गर्ने हो भने त जग्गा किनबेचमा गए भैगोनि । जग्गा कारोबारीले जति नाफा कसैले गर्दैन । कसैले पनि जग्गाको भाउ बढ्छ भनेर उद्योग लगाउने होइन । उद्योग बन्द भयो भने मेसिन किन्न भन्दा काटेर फाल्न बढी पैसा लाग्छ । जग्गाको हदबन्दी, औद्योगिक जग्गा बेच्न नपाइने जस्ता समस्या पनि छन् । नयाँ प्रविधि आयो, प्रतिस्पर्धा गर्न सकिएन, उद्योग चलेन, बन्द गर्नुपर्ने भयो, उद्योग अन्त सार्नुपर्ने भयो । यस्तो अवस्थामा पनि जग्गा बेच्न नपाइने नियम छ । जग्गाको भाउ बढ्यो भनेर त्यसको बेनिफिट पनि हामीले लिन पाएका छैनौं ।

नेपाल उद्योग वाणिज्य महासंघको कुरा गरौं । कात्तिक २९ गते विशेष साधारणसभा किन बोलाएको ? अन्तिम घडीमा किन स्थगित गरेको ?

यो प्रश्न अध्यक्ष भवानी राणालाई सोध्नुहोस् । महासंघका पदाधिकारीलाई सोध्नुहोस् ।

निर्वतमान अध्यक्ष पनि पदाधिकारी हो नि ?

हो । तर मैले शुरु देखि नै जुन उदेश्यले विधान संशोधन गर्ने, विशेष साधारणसभा गर्ने कुरा ल्याइयो, त्यसको विरोध गर्न थालेको हुँ । वर्तमान वरिष्ठ उपाध्यक्षलाई हामीले ६ वर्षको लागि चुनेका हौ । तीन वर्ष उपाध्यक्ष, त्यसपछि तीन वर्ष अध्यक्ष हुने भनेर मैले भोट हालेको हुँ । अरुले पनि त्यहि भनेर भाेट हालेकाे हाे। निर्वाचन भएको छ महिनामै विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई हटाउने योजना बन्यो । अहिलेको महासंघको नेतृत्वले साढे दुई वर्षदेखि विधान संशोधन गर्ने कि नगर्ने, कसलाई हटाउने, कसलाई अध्यक्ष बनाउने भन्ने खेल मात्र खेलिरह्यो । त्यो सब गलत काम भएको थियो । त्यो रोकिनु पर्दथ्यो । रोकियो । अनि विधान संशोधन को कुरा गर्ने, विधानको पालना गर्ने ? विधानको ६६-१(क)मा विधान संशोधन आवश्यक छ भने विधान साधारणसभा भन्दा तीन महिनाअघि सदस्यलाई मस्यौदा पठाउनुपर्छ । विधान संशोधनको मिति तोकिएको छ । साधारणसभाको लागि निम्ता गएको छ । तर विधान संशोधनको मस्यौदा सदस्यले पाएका छैनन् । साधारणसभामा आईसकेपछि यो संशोधन गर्न लागेको भन्ने र भोटिङ गराउने ? महासंघका संस्थागत सदस्यले अब कसरी भोटिङ गर्ने ? संस्थाभित्र छलफल हुनुपर्दैन ? विधान संशोधन गर्नुको नियत गलत थियो, विधि गलत थियो । त्यसलाई हामीले रोक्यौ ।

यो प्रश्न अध्यक्ष भवानी राणालाई सोध्नुहोस् । महासंघका पदाधिकारीलाई सोध्नुहोस् ।

तपाई आफ्नो मिसनमा सफल हुनुभयो । तपाई धेरैको लागि बधाईको पात्र पनि बन्नुभयो । अब महासंघको शक्तिकेन्द्रमा पशुपति मुरारका आए भन्ने समाचार पनि छापिए । साच्चै हो महासंघको मठाधिश उपाधि पाएका चण्डिराज ढकालबाट पावर पशुपति मुरारकामा सरेको हो ?

महासंघको शक्ति अध्यक्षमा केन्द्रीत हुन्छ । म अहिले निवर्तमान अध्यक्ष भएपनि मेरो सक्रियता निकै कम छ । अध्यक्षले राय मागेको अवस्थामा राय दिन्छु । मान्ने नमान्ने अध्यक्षको कुरा भयो । मलाई शक्तिको केन्द्र बन्नु छैन । विगत दुई महिनामा महासंघका गलत काम भए । त्यसलाई रोक्न मात्र म सक्रिय भएको हुँ । कुनै व्यक्तिलाई अध्यक्ष बनाउन वा कुनै व्यक्तिलाई अध्यक्ष हुन रोक्नको लागि विधान संशोधन गर्नु गलत हुन्छ ।

यसअघि महासंघको विधान संशोधन हुँदा तपाई अध्यक्ष हुनुहुन्थ्यो । त्यो संशोधन भवानी राणालाई अध्यक्ष बनाउने उदेश्यले नै गरिएको थियो ।  कार्यसमिति सदस्यमा निर्वाचित व्यक्तिलाई विधान संशोधन गरेर अध्यक्ष बनाउने त्यतिबेलाको निर्णय सहि थियो त ?

त्यतिबेलाको संशोधन व्यक्ति केन्द्रीत थिएन । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधि बनाउन विधान संशोधन गरियाे। विधान संशोधन लगत्तै लागु गर्ने भन्ने निर्णय पनि साधारणसभाले गर्याे । विशेष साधारणसभाले सर्बसहमतिमा निर्णय गरेको विषय हाे याे । त्यतिबेला ठिक लागेर गरेको काम अहिले ठिक नलाग्न पनि सक्छ । विधान संशोधन हुन सक्छ । तर विधान संशोधन पनि विधिअनुसार हुनुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघ चरम विवादमा फस्दै गएको छ । महासंघको निर्वाचित अध्यक्षलाई जेल पुर्याउने काम पनि महासंघको जिम्मेवार व्यक्तिहरुले पहलमा भएको थियो । कसैलाई नाटकीय शैलीमा नेतृत्वबाट पदच्युत गराउने । कसैलाई अध्यक्षको कुर्सीमा बसाउन हतार गरेर मुल ढोका छोडेर झ्यालबाट भित्र छिराउने काम पनि भए । नियमित काम कै कुरा गर्ने हो भने चालु आर्थिक वर्षको सरकारको बजेट, नीति तथा कार्यक्रम गज्जब राम्रो भनेर महासंघले विज्ञप्ती निकालेर स्वागत गर्यो । त्यसको भोलिपल्ट देखि महासंघकै सदस्यहरु सरकारी बजेटको विरोधमा सडकमा आए । सबै तथ्यहरु घाम जत्तिकै छर्लङ्ग छन् । महासंघ किन यसरी गिर्दै गएको छ ?

जबसम्म महासंघमा ट्र्यू स्टेकहोल्डर र ट्र्यू लिडरशिप हुँदैन तबसम्म यस्तो समस्या आउँछ । नेतृत्वले आफ्नो विवेक र क्षमता देखाउन नसक्दा यस्तो समस्या आउँछ ।

जबसम्म महासंघमा ट्र्यू स्टेकहोल्डर र ट्र्यू लिडरशिप हुँदैन तबसम्म यस्तो समस्या आउँछ । नेतृत्वले आफ्नो विवेक र क्षमता देखाउन नसक्दा यस्तो समस्या आउँछ । म पहिला अध्यक्ष थिए, अहिले निर्वतमान भए । अब बैशाखदेखि मेरो केही पनि भूमिका हुँदैन । आगामी बैशाखपछि पनि महासंघमा म सक्रिय भए भने महासंघको नयाँ नेतृत्वले आफ्नो सोच, विवेक र क्षमता देखाउन सक्दैन । उद्योग व्यापार नबुझेको व्यक्ति नेतृत्वमा पुग्दा पनि समस्या आएको छ । कुरै नबुझि मिडियामा बोल्दिन्छन् । कुरै नबुझि सरकारसँग डिल गर्न पुग्छन् । त्यसपछि त्यसपछि समस्या आउँछ ।

तपाईकै भनाई अनुसार कुरै नबुझि सरकारसँग डिल गर्ने, सरकारको नीति कार्यक्रमको स्वागत गर्ने, विजनेशन नै नबुझेको मान्छे महासंघको नेतृत्वमा कसरी पुग्छन् ?

सरकारले राम्रो गरेको छ भने गुनगान पनि गर्नुपर्छ । सरकारले राम्रो गरेको स्वागत पनि गर्नुपर्छ । नराम्रो छ भने नराम्रो पनि भन्न सक्नुपर्छ । नेतृत्व चयन भाेटिङबाट हुन्छ । विधि सम्मत नै भएका छन् । नेतृत्व चयनकाे विधि पद्दति ठिक छैन भन्न त मिल्दैन ।

तर महासंघ स्मूथ्ली चलिरहेको छैन ?

महासंघमा राजनीति अलि बढि नै हुन थाल्यो ।

महासंघभित्र भ्रष्टाचार पनि बढ्यो ?

भ्रष्टाचार भयो त भन्दिन ।

महासंघको कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासंघ भ्रष्टाचारमा डुब्यो भनेर राजीनामा दिनुभयो, भ्रष्टाचार छैन भनेर कसरी भन्नुहुन्छ ?

उहाँले चार्ज लगाउनु भयो । राजीनामा पनि दिनुभयो । तर चार्ज लगाउँदैमा भ्रष्टाचार भयो भनेर म भन्दिन ।

महासंघको आयव्यय पनि पारदर्शी छैन नि ?

कसरी भन्नुहुन्छ ट्रान्सपरेन्स छैन भनेर ?

महासंघले आर्थिक प्रतिवेदन कहिल्यै सार्वजनिक गर्दैन । मिडियाकाे तर्फबाट माग्दा हामीले नै पाएनाै ?

सूचनाको हक सम्बन्धि अधिकार प्रयोग गरेर निवेदन राख्नुहोस् । तपाईले सबै कुरा पाउनुहुन्छ ।

त्याे विशेष पहल पछि पाउने कुरा भयाे ।  कार्यसमिति सदस्यहरुको मोवाइल नम्बर समेत राख्ने महासंघका वेवसाइटमा आर्थिक प्रतिवेदन किन राखिदैन ?

तपाईले सहि भन्नुभयो । मेरो पालामा पनि आर्थिक प्रतिवेदन वेवसाइटमा राखिएन होला । मेरो दिमागमा पनि आएन त्यो कुरा । हामीले हरेक वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन वितरण गरेका हुन्छौं । यसलाई वेवसाइटमा राख्न म महासंघको वर्तमान नेतृत्वलाई र आउने वाला नेतृत्वलाई आग्रह गर्छु । राख्ने नराख्ने उहाँको निर्णय हो । तपाईको सुझाव राम्रो छ ।

तपाईलाई किङ मेकेर पनि भन्दा रहेछन् मानिसहरु । महासंघको नेतृत्वमा को को आउदैहुनुहुन्छ ?

किङ मेकेर भन्ने शब्दलाई नै घृणा गर्छु म । महासंघको नेतृत्वमा कसलाई ल्याउने भन्ने कुरा महासंघका सदस्यहरुको भोटले निर्धारण गर्छ । उनीहरु नै किङमेकर नै हुन्छ । विगतमा म पनि उमेदवार हुँदा टिम बनाउने, यो भन्दा यो मान्छे बेटर बन्ने काममा म सक्रिय हुन्थ्यो । अब त त्यो पनि नगरौ जस्तो लागिरहेको छ । महासंघ कठिन अवस्थामा छ । त्यसैले सर्बसहमतिमा पदाधिकारी चयन गर्न मेरो प्रयास हुन्छ ।

तपाई महासंघमा सर्वसहमतिमा अध्यक्ष बन्नु भयो । तपाईको पालामा महासंघमा उल्लेख्य र ऐतिहासिक काम के भए ?

महासंघकाे कार्यकारिणी सदस्य, विभिन्न समितिकाे सभापति, उपाध्यक्ष, अध्यक्षकाे जिम्मेवारीमा रहेर काम गर्दा मैले कर प्रणालीमा सुधार गर्न धेरै भूमिका खेलेको छु । उपाध्यक्ष भएको बेलामा ट्रेड यूनियनसँग भएको समझदारी निकै महत्वपूर्ण रह्यो । विनासकारी भूकम्प पछिको अवस्थामा म अध्यक्ष थिए । त्यसपछि देशमा नाकाबन्दी भयो । जटिल अवस्थामा निजी क्षेत्रको नेतृत्व गर्नुपर्ने अवस्था थियो । त्यहिबेलामा संविधान आयो । संविधान बनाउने क्रममा मैले भित्रभित्र धेरै काम गरेको छु । प्राकृतिक स्रोतमा लाग्ने कर, प्रदेश र स्थानीय तहले लिने दोहोराे कर हटाउन मैले महासंघको अध्यक्ष भएको बेलामा निकै काम गरेको छु ।

संविधानको पहिलो मस्यौदा र अहिलेको संविधान हेर्नुहोस्, दोहोरो कर कति हटेको छ ? त्यसले देखाउँछ कि त्यतिबेला महासंघले कति राम्रो भूमिका खेलेको रहेछ । प्रदेश सरकारलाई अन्तशुल्क उठाउने अधिकार थियो, त्यो हटायौं । प्रदेश सरकारले आयकर अलग्गै लगाउने अधिकार थियो, त्यो हटायौं । हरेक कम्पनीको सञ्चालक समितिमा ट्रेड यूनियनको प्रतिनिधि हुने व्यवस्था थियो, त्यो हटाउन लगायौं । त्यतिबेला मैले भित्रभित्रै यति धेरै काम गरे कि त्यो प्रचारप्रसार गर्न पनि नमिल्ने । भ्याट, भन्सार, अन्तशुल्क र आयकर केन्द्र सरकारले मात्र लिन पाउने व्यवस्था संविधानमा राख्न महासंघको ठूलो भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.