वायुसेवा निगमको छलाङः पर्यटन वर्षलाई लक्षित गर्दै जापानपछि अब चीनमा पनि उडान

  २०७६ मंसिर १८ गते १५:२९     विकासन्युज

काठमाडोै । ‘भिजिट नेपाल २०२०’ लाई मध्येनजर गरी नेपाल सरकारले अंग्रेजी नयाँ वर्षदेखि चीनको ग्वाङ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल वायु सेवाले चीनको सो प्रान्तमा साताको दुई पटक उडान भर्ने निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । करिब डेढ वर्ष अगाडि नेपालले चीनको सो प्रान्तमा उडान भर्न आवश्यक पहल गरेपनि अहिले अनुमति पाएको हो । चीनको राजधानी बेइजिङमा सिधा उडान गर्न निगमले प्रक्रिया अघि बढाएपनि अनुमति पाएको छैन ।

चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको हो । नेपालले यात्रुहरूको चाप अनुसार साताको दुई वा तीन पटक उडान भर्नेछ । यसका साथै नेपालले जापानको नारितामा पनि आगामी मार्च २ गतेदेखि उडान भर्ने तयारी गरेको छ । नेपालले यस अघि जापानको ओसाकामामा उडान भर्न शुरु गरिसकेको छ ।

भ्रमण वर्ष नजिकिदै गर्दा विशेष कुटनीतिक पहलबाट चिनियाँ सिभिल एभिएसनले ग्वाङ्जाओमा उडान गर्न स्वीकृती दिएको हो । लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको प्रवक्ता चन्दले बताए । नेपालले आन्तरिक रूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि अनुमति आएको हो ।
प्रवक्ता चन्दकाअनुसार निगमले यसअघि बेइजिङ र साङ्घाई उडानका लागि पनि पहल गरेको थियो । तर, उक्त प्रान्तमा उडान भर्न चीनले अनुमति दिएको छैन ।

निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको शर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै नेपाल आउने भनिएको थियो । तर, चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरेपछि उडान सञ्चालन गर्ने समझदारी बनेको हो ।

लामो समयको अन्तरालपछि अन्ततःराष्ट्रिय ध्वजावाहक जहाज नेपालले चीनको ग्वाङ्जाओ उडान गर्ने निश्चित भएको हो । उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पुरा गरिसकेको छ । यसअघिनै नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । चीनमा गन्तव्य विस्तार गर्ने क्रममा हिमालयले यही मङ्सिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान शुरु गरिसकेको छ । कम्पनीले चीनका अन्य थप चार गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

निगमले गत भदौ १२ देखि जापानको ओसाकामा सिधा उडान शुरु गरेको थियो । तर, यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको छ । निगमले ओसाकामा सातामा दुई दिन उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.