नेपाल स्टिलकाे ऋण १३ करोड नाघ्याे, कर्जा नतिर्दा बैंकलाई हैरानी

  २०७६ मंसिर १२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टिलले २०५२ साल असोज ७ गते हिमालय बैंक र नेपाल बैंकबाट लिएको (सहवित्तीयकरण) कर्जा चुक्ता नगर्दा बैंकहरू तनावमा परेका छन् । ऋण लिएको यो अवधिमा नेपाल स्टिलले हिमालयन बैंक र नेपाल बैंकलाई १३ करोड ३५ लाख रुपैयाँ भुक्तान गर्नुपर्ने भएको छ । उतिबेला नेपाल स्टिलले हिमालय बैंकबाट ४ करोड ८९ लाख र नेपाल बैंकबाट १ करोड ७९ लाख कर्जा लिएको हो ।

नेपाल स्टिलले यी दुई बैंकसँग गरेको पछिल्लाे सहमति अनुसार गत असोजसमान्तसम्म ऋणको साँवा र ब्याज भुक्तान गरिसक्नु पर्ने थियो । सहमति भएको यो अवधिमा उसले ऋण भने चुक्ता गर्न सकेन । गत भदौमा १ करोड बुझाएपछि असोजमा आएर ऋण चुक्ता गर्ने म्याद पुससमान्तसम्म थप गर्न निवेदन दियो । पछिल्लो समय पुसमसान्तसम्म कर्जा र ब्याज दुबै बुझाउने सहमति भएको छ । कर्जा लिएको यतिका वर्षपछि बैंकहरूले तागेता गर्दा गर्दा करिब १ वर्षअघिमात्रै नेपाल स्टिलका सञ्चालन दमनवहादुर अमात्य सम्पर्कमा आएका हुन् ।

चितवन जिल्लाको देबौलीमा करिब ५४ कठ्ठा जमिन र उद्योगमा जडान गरिएका मेशिनरी उपकरण धितो राखेर सो कर्जा लिएको हो । धितो सकार्दा ९० प्रतिशतभन्दा बढी ऋणको साँवा ब्याज असुल उपर हुने देखिएपनि अहिलेसम्म धितो लिलाम भने भएको छैन । पछिल्लो समय बैंकहरूले यसरी लामो समयदेखि रहेका कर्जालाई फरफारक गर्न न्यूनतम ब्याजमा व्यवस्थापन गर्न खोजिरहेका छन् ।

उद्योग सञ्चालनमा आएको केही वर्ष नेपाल स्टिलले केही ब्याज बुझाए पनि यसलाई निरन्तरता दिएन । ब्याज त बुझाउनेले साँवा भुक्तान गर्ने त कुरै भएन । विस्तारै यसको साँवामा ब्याज थपिदै गयो । अहिले यी दुबै बैंकलाई तिर्नुपर्ने ऋणको साँवा, ब्याज र अन्य प्रशासनिक खर्च समेत गरी १४ करोड पुग्ने देखिएको छ । बैंकहरूले ९.८३ प्रतिशत ब्याज लिएर कर्जाको व्यवस्थापन मिलाउन लागेका हुन् ।

नेपाल स्टिलले कर्जा नतिरेपछि बैकहरूले सुरक्षण लिलामीका लागि २०६८ जेठ २० गतेदेखि २०७३ चैत २७ गतेसम्म गरी चार पटक सूचना निकाली सकेका छन् । २०६२ भदौ २० गते ऋणी कम्पनीलाई बैंकले कालो सूचीमा राखेको छ ।

उद्योग सञ्चालक अमात्यले पछिल्लो समय कर्जा तिर्ने प्रतिवद्धता गर्दै बैंकमा आएकाले बैंकले ऋण असुली न्यायधिकरणमा दर्ता भइसकेको मुद्दालाई समेत फिर्ता लिएको छ । ऋण असुली न्यायधिकरणले कम्पनीले १२ करोड ९५ लाख तिर्नुपर्ने गरी मूल्यांकन गरेको छ । यसमा प्रशासनिक खर्च जोडिदा १४ करोड असुल उपर गर्नुपर्ने देखिएको दुबै बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.