१७औँ हस्तकला व्यापार मेलाको तयारी पुरा, मंसिर १२ गतेदेखि शुरु

  २०७६ मंसिर ९ गते १९:०२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हुने १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको हो ।

महासङ्घले सोमबार पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पुरा भएको जनाएको छ ।

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । साथै उनले नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने , स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुको सहयोगमा यो व्यापार मेला तथा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएका छन् ।

आठ प्याभिलियनसहित २०० कक्ष रहने उक्त मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापान लगायतका युरोपका विभिन्न मुलुकका २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

मेलाको उद्घाटन अर्थमन्त्री डा. युवाराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.