नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक

  २०७६ मंसिर ९ गते १५:४८     विकासन्युज

काठमाडौं ।  चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाले नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक भएको बताएका छन् । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै उनले युनान नेपालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक भएको बताएका हुन् ।

उनले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे ।

नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ। यसप्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागी प्रोत्साहनसमेत गर्नेछ भन्ने मेरो विश्वास छ’, मन्त्री पुनले भेटमा भने।नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आएका गर्भनर चेङगफा नेतृत्वको ८ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो।

छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री पुनले तामाकोशी जलविद्युत आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत परियोजनामा पनि लगानी गर्न आग्रह गरे।

‘तामोकोशी जलविद्युत परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ। यसमा म तपाईंहरूलाई स्वागत र धन्यवाद दिन चाहन्छौ। पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताहरूको संख्या धेरै छ’, मन्त्री पुनले भने। उनले सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागी पहल गरिदिन आग्रह समेत गरे।

मन्त्री पुनले भने, ‘हामीले जलविद्युत क्षेत्रमा लचिलो नीति लिएका छौं, पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान छ। नेपालभित्र खपतको लागी बजारको विस्तार पनि हुंदै गएको छ। भारत, कोरिया र चीनलगायतका देशबाट पनि लगानीकर्ताहरू आईरहेका छन्। हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौं।’

बङ्गलादेश र भारतमा विद्युत व्यापारको लागी ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाई थियो। उनले ४ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिंदै नेपालले जलविद्युतको क्षेत्रमा प्रगति गरिरहेको बताए।

मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणको लागी यो सन्देश प्रवाह गरिदिन आग्रह गरे। गर्भनर चेङफाले तामाकोशी ३ जलविद्युत आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत क्षेत्रमा थप लगानी गर्ने धारणा राखे।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसंगै युनान प्रान्त र नेपालको व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे। युनान प्रान्तका गर्भनर चेङगफाले कुनमिङमा आयोजना हुने कुनमिङ साउथ एसिया एक्सोमा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.