भ्रमण वर्षको पोस्टर भारतीय गाडीमा टाँस्ने अभियान शुरु

  २०७६ मंसिर ७ गते १८:२१     विकासन्युज

काठमाडौं । पूर्वकाे नाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान शुरु भएको छ ।

सङ्घीय सांसद् राम कार्की तथा प्रदेशसभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले डब्लुबी ७४ एके ८८६४ नंको भारतीय गाडीमा संयुक्त रुपमा पोस्टर टाँसेर अभियानको शुरुवात गरेका हुन् ।

रङ्गीन कलेवरमा पर्यटन वर्षको लोगोसहित छापिएको पोस्टरमा ‘नेपाल भ्रमण वर्ष २०२० मा पाल्नुहुने सम्पूर्ण वैदेशिक तथा आन्तरिक पर्यटकहरुलाई स्वागत गर्दै पर्यटन वर्ष सफल पारौँ’ उल्लेख गरिएको छ । गाडीहरुमा पोस्टर टाँसिएपछि त्यसमा उल्लेख भएको सन्देश भारतका विभिन्न स्थानमा सहजै पुग्ने लायन्स क्लब अफ काँकडभिट्टाका अध्यक्ष शङ्कर थापाले बताए ।

भूटान, बङ्गलादेश, म्यान्मा र उत्तरपूर्वी भारतको पश्चिम बङ्गाल, सिक्किम, मेघालय, आसाम, नागाल्यान्ड, मिजोरम लगायत प्रान्तका पर्यटकहरुका लागि नेपाल प्रवेश गर्ने सबैभन्दा सहज स्थलनाका काँकडभिट्टा हो । नेपालमा भ्रमण वर्ष सफल बनाउन लायन्स र लियो क्लबहरुले पर्यटक लोभ्याउने अभियान नाकाबाटै शुरु गरेको लायन्स क्लबका डिस्ट्रिक कोअर्डिनेटर लीला चिमरियाले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.