रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति साढे १४ अर्ब बचतमा

  २०७६ मंसिर ५ गते १५:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९ प्रतिशतले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स घट्दा पनि शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड रुपैयाँ बचत रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३.७ प्रतिशतले घटेसँगै यसको असर रेमिट्यान्समा देखिएको हो । गएको आवको सोही अवधिभन्दा रेमिट्यान्स ३४.८ प्रतिशतले घटेको थियो । गत आवको सोही अवधिको तुलनामा देश भित्र भित्रने रेमिट्यान्स दर भने बढेको छ ।

गत आवको सोही अवधिको तुलनामा यस आवमा आयात घट्न गएको छ भने रेमिट्यान्स वृद्धि दरमा सुधार आएको छ । साथै  निर्यात बढेकाे छ  । साथै वैदेशिक लगानीमा समेत सुधार आउँदा यसको प्रत्यक्ष असर शोधनान्तरमा देखिएको हो । मुलुकबाट भित्रिने र बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ ।

गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ४२ करोड घाटामा रहेको शोधनान्तर चालु आवमा बचतमा देखिएको छ । यस वर्षको सो अवधिमा १४ अर्ब ४३ करोड बचतमा रहेको छ । गएको आवको तुलनामा यस आवमा आयात घट्दा र निर्यात बढ्दा यसकाे असर शोधनान्तर बचतमा  देखिएकाे हो ।

यस वर्ष निर्यात बढेको छ । यसले पनि शोधनान्तर बचत बढाउन सहयोग गरेको हो । आयातको तुलनामा निर्यात बढेकोले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको राष्ट्र बैंकले जानकारी  दिएकाे छ । चालु आर्थिक वर्षको ३ महिना वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिमा उल्लेख गरिएकाे छ ।

चालु आवको पहिलो तीन महिनामा १०.३ प्रतिशतले आयात घटेर तीन खर्ब ३४ अर्ब ९५ करोडमा सीमित भएको छ । सामान्यतयाः देशमा भित्रने भन्दा बाहिरिने रकम बढी भएको खण्डमा शोधनान्तर घाटामा जाने गर्दछ । अहिले शोधनान्तर बचतको अवस्था छ ।

विदेशी मुद्राकाे प्रर्याप्ततामा निर्भर हुने शोधनान्तर स्थिति बचतमा हुँदा अमेरिकी डलरमा शोधनान्तर बचत रहेको छ । यो अवधिमा शोधनान्तरमा १२ करोड ७८ लाख अमेरिकी डलर बचत रहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । यद्यपि अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २६० अर्ब ७७ करोड कायम भएको छ ।

बढदै विदेशी मुद्रा संचिति

शोधनान्तरमा सुधार आएसँगै विदेशी मुद्राको संचिति पनि बढ्दै गएको छ । गत आवको अन्त्य(असार मसान्त)मा १०३८ अर्ब ९२ करोड विदेशी मुद्रा संचिति रहेकोमा अहिले १०८७ अर्ब ७३ करोड पुगेको छ । सो अवधिमा ४ करोड अमेरिकी डलर संचिति बढेर ९ अर्ब ५४ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.