मेराे कार्यकालमा सनराइज बैंकलाई टप टेनमा पुर्याउछु- जनकराज शर्मा पौड्याल

  २०७६ कार्तिक २४ गते १२:२२     विकासन्युज


३२ वर्ष बैकिङ क्षेत्रमा काम गर्नु भएका जनकराज शर्मा पौड्यालले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको ४ महिना बित्यो । नविल बैंकबाट बैकिङ करिअर शुरू गर्नुभएका पौड्यालले एनआइसी एशिया, लक्ष्मी बैंक हुँदै ग्लोवल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालिसक्नु भएको छ ।  
चार वर्षमा सनराईज बैंकलाई टप टेन बनाउने लक्ष्य र प्रतिवद्धता पौड्यालसँग छ । उक्त लक्ष्य प्राप्तिका लागि योजना के के छन् ? सनराईज बैंकले ३ अर्बको डिबेन्चर जारी गरेको छ । यसमा लगानी गर्दा के फाइदा हुन्छ ? बैंकको व्याजदर अब के हुन्छ ? यिनै विषयमा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत पौड्यालसँग गरिएको विकास वहस यस अंकमा ।

सनराईज बैंकले ‘सनराइज डिबेन्चर २०८३’ निष्काशन गरेको छ । अरु बैंकहरुको पनि डिबेन्चरहरु निष्काशन भईरहेका छन् । यसबेला लगानीकर्ताहरुलाई छनौटको धेरै अवसर छ । यस्तो बेलामा लगानीकर्ताले सनराईज डिबेन्चर नै किन रोज्ने ?

बण्ड मार्केटको विकास गर्ने उदेश्य सहित राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्छ भनेको छ । राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै हामीले पनि डिबेन्चर जारी गरिरहेका छौं । हामीले चुक्ता पुँजीको करिव ३६ प्रतिशत हुने अर्थात ३ अर्बको डिबेन्चर निष्काशन गरेका छौं ।

बैंकले जारी गरेको डिबेन्चर सात वर्ष अवधिको छ । वार्षिक व्याजदर १०.२५ प्रतिशत व्याज तोकिएको छ । बैंकहरुले १/२ वर्षको मुद्दतिमा ९.५० प्रतिशत दिएका छन् । हामीले मुद्दतीमा भन्दा शुन्य दशमलव ७५ प्रतिशत बढी व्याज दिएका छौं । ६/६ महिनामा लगानीकर्ताले व्याज पाउनुहुनेछ । नेपालको वित्त बजारमा व्याजदर निकै अस्थीर रहदै आएको छ । ७ वर्ष अवधि भनेको धेरै लामो पनि होइन, छोटो अवधि पनि होइन । यस अवधिमा निश्चित प्रतिफल आउनेभयो ।

अर्को महत्वपूर्ण कुरा के छ भने डिबेन्चर जारी गर्नुपूर्व हामीले बैंकको क्रेडिट रेटिङ गराएका छौं र त्यसमा ‘ए माइनस’ पाएका छौं । यसको अर्थ बैंक राम्रो छ, यसको डिबेन्चरमा गरिएको लगानी पूर्ण सुरक्षित छ भन्ने हो ।

त्यस्तै, हामीले हरेक वर्ष ६० करोड रुपैयाँ डिबेन्चर फण्डमा संकलन गर्दै जान्छौं । डिबेन्चर परिपक्क भएपछि बैंकले लगानीकर्तालाई पैसा फिर्ता गर्न सक्दैन कि भन्ने चिन्ता पनि हुँदैन । डिफल्ट हुने सम्भावना शुन्य छ ।

त्यस्तै, बैंकमा संस्थागत सुशासन राम्रो छ । नियम कानुनको पूर्ण परिपालना भएको छ । नियामकले दिएका निर्देशनहरुको पालना भएको छ । हालै नेपाल स्टक एक्स्चेञ्ज कम्पनीले एउटा मात्र बैंकलाई क वर्गमा राखेको छ, त्यसमा सनराइज बैंक मात्र छ । २४५ वटा सूचिकृत कम्पनी मध्ये सनराईज बैंक एक नम्बरमा छ ।

सनराईज बैंकले १२ वर्षको यात्रा पुरा गरेको छ । ६ लाख ग्राहक छन् । १२२ वटा शाखा छन् । १४० वटा एटीएम सञ्जाल छन् । ब्रान्चलेस बैकिङ सेवासहित करिव ३०० स्थानबाट सनराईज बैंकले बैकिङ सेवा प्रदान गर्दै आएको छ । सनराईज बैंक बलियो र विश्वासिलो संस्थाको रुपमा स्थापित भएको छ ।

म यो बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आएको चार महिना भयो । मैले यो संस्था धेरै राम्रो रहेको पाए । गुडगभनेन्स छ, सिस्टमा चलेको छ, वित्तीय रुपमा बैंक बलियो छ । त्यसैले लगानीकर्ताको लागि सनराइज डिबेन्चर उच्च प्रतिफल दिने र सुरक्षित लगानी गर्ने ठाउँ हो ।

ऋणपत्रबाट संकलिन ३ अर्ब रुपैयाँ कहाँ लगानी हुन्छ ?

लगानीको ठाउँ प्रशस्त छ । देशभर कर्जाको माग उच्च छ । निक्षेपको वृद्धि कम छ । राम्रो प्रतिफल दिने क्षेत्रहरुमा कर्जा लगानी गर्छौ ।

बैंकहरुले गत वर्ष मात्र चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ बनाएका छन् । फेरी सहायक पुँजीको रुपमा डिबेन्चर जारी गरेका छन् । यसले कर्जा लगानी विस्तारमा थप दवाव सिर्जना गर्दैन ?

केही समयअघि २ अर्बका ३२ वटा बैंक थिए । अहिले कम्तिमा ८ अर्बको २८ वटा बैंक छन् । पहिला ३२ वटा गाई भएको ठाउँमा अहिले २८ वटा हात्ती छन् । पुँजी वृद्धिसँगै बैंकहरुले कर्जा लगानी बढाएका छन् । आर्थिक वृद्धिदर, नेपालीहरुको आय वृद्धिदर, बचत वृद्धिदर, निक्षेप वृद्धि दर, विप्रेषण आप्रवाहको वृद्धिदरको तुलनामा कर्जा विस्तार धेरै भईरहेको छ । त्यसैले बैंकहरुमा लगानी योग्य पुँजीको कमी रह्यो । राष्ट्र बैंकले सबै बैंकलाई चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर भन्नुको अर्थ लगानीयोग्य पुँजी निर्माण गर्नु पनि हो । यसले लगानी विस्तारलाई सहयोग गर्छ ।

आज पनि बैंकहरुको सीसीडी रेसियो औषत ७८ प्रतिशत छ । यो भनेको हामी यलो जोनमा छौं । हामीले होसियारी पूर्वक लगानी गर्नुपर्ने अवस्था छ । सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । त्यसको लागि वार्षिक पाँच खर्ब लगानी हुनुपर्छ । त्यसको लागि ठूलो खाडल छ । राष्ट्र बैंकले विदेशबाट पुँजी ल्याउन विभिन्न बाटो खुला गरेको छ । तर एकाध बैंकले मात्र विदेशबाट पुँजी ल्याउन सफल भएका छन् ।

क्रेडिट क्रन्च हुनुमा बैंकहरुले आक्रामक लगानी गरे भन्ने आरोप पनि छ । त्यो गलत कुरा हो । बैंकहरुले आफूसँग भएको स्रोतको अधिकतम परिचालन गर्ने प्रयास गर्नैपर्छ, त्यो गरिरहेका छन् । नियमकीय मापदण्डभित्र रहेर बैंकहरुले लगानी गरेका छन् र लगानीकर्तालाई अधिकतम लाभ दिने प्रयास गरेका छन् भने त्यसलाई नराम्रो भन्न मिल्दैन ।

बरु सरकारी खर्च नियमति भएन । पुँजीगत खर्च ज्यादै कम भयो । रेमिट्यान्स आय घटेको छ । बैदेशिक व्यापार घाटा जोखिमपूर्ण विन्दुमा छ । त्यसतर्फ देखिएका समस्या समाधान हुने हो भने लगानीयोग्य पुँजी बैंकमा आउँछ ।

मुद्दतीको व्याजदर भन्दा ऋणपत्रको व्याजदर विन्दुगत आधारमा एक प्रतिशतभन्दा पनि कम फरक छ । मुद्दतिमा ९.७५ प्रतिशत व्याज पाइरहेको अवस्थामा ऋणपत्रको व्याज किन १०.७५ पनि नराखेको ?

बैंकहरुले १ वर्ष वा २ वर्ष अवधिको मुद्दतीको ९.७५ प्रतिशत दिनु र ७ वर्षको डिबेन्चरमा १०.२५ प्रतिशत व्याज दिनुमा डिबेन्चर धेरै फाइदाजनक छ । डिबेन्चर नेप्सेमा सूचिकृत हुन्छ । चाहेको बेलामा बेच्न पनि सकिन्छ । धितोराखेर कर्जा लिन पनि सकिन्छ । आम्दानी सुनिश्चित छ । कुनै पनि जोखिम छैन । फेरि ७ वर्षसम्म निक्षेपको व्याज उच्च रहिरहन्छ भन्न पनि सकिदैन । विदेशबाट ऋण तथा लगानी भित्र्याउन सरकारले लचिलो नीति लिदै गएको छ । १/२ वर्षभित्रै विदेशबाट छताछुल्ल पैसा आउन पनि सक्छ । त्यस्तो अवस्थामा मुद्दतिको व्याज त ह्वात्तै घट्न सक्छ । सात वर्षसम्म अहिले कै अवस्था आउँछ भन्न सकिन्छ ।

डिबेन्चर धितो राखेर कर्जा लिने वा धितोपत्र बजारमा बेचेर क्यास गर्ने अभ्यास नै कम छ, किन ?

हो । नेपालमा बण्ड मार्केटको विकास हुन सकेको छैन । सेयरको कारोबार जति हुन्छ बण्डको कारोबार हुँदैन । तर अब बण्ड मार्केट विकास हुन्छ । सप्लाईले पनि बजार निर्माणमा राम्रो रोल खेल्न सक्छ । अब बैंकहरुले ऋणपत्र जारी गर्दैछन् । यसको किनबेच पनि बढ्छ ।

१००० रुपैयाँको ऋणपत्र १२०० वा १५०० मा किनबेच गर्ने दिन आउँदै आएन नेपालका, किन ?

अब आउँछ । सप्लाईले डिमाण्ड क्रियट गर्छ ।

गत वर्षको नाफाबाट सनराईज बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दियो । आज यो बैंकको सेयर मुल्य प्रतिकित्ता २०० रुपैयाँ छ । तपाई आफै भन्नुहोस् आजको दिनमा सनराइज बैंकको सेयर किन्दा फाइदा हुन्छ कि सनराईज बैंकको डिबेन्चर किन्दा फाइदा हुन्छ ?

लगानीकर्ताको रुचीमा भर पर्छ । लगानीकर्तासँग पैसा कति छ ? सेयर ट्रेडमा ऊ कति अनुभवी छ ? जोखिम लिने क्षमता कति छ ? सेयरमा लगानी गर्नेले धेरै कुरामा ध्यान दिनुपर्छ । बैंकले सेयरधनीलाई दिने लाभांश घटबढ हुनसक्छ तर डिबेन्चरको लाभांश फिक्स छ । ६/६ महिनमा लाभांश आउँछ । सुरक्षित छ । जोखिम शुन्य छ ।

१००० मा किनेको डिबेन्चर १५०० भन्दा माथि पुग्न सक्छ भन्नुभयो । आज २०० मा किनेको सनराईजको सेयर ७ वर्षभित्रै ५०० भन्दा माथि पुग्न सक्ने सम्भावना कति छ ?

जोखिम धेरै लिन सक्नेको लागि सेयरमा बढी फाइदा हुनसक्छ । तर डिबेन्चरमा जस्तो फिक्स आम्दानी हुँदैन । डिबेन्चरमा फिक्स आम्दानी, पूर्ण सुरक्षित र मूल्य वृद्धि लाभको सम्भावना सबै छ ।

समग्र बैकिङ क्षेत्रको कुरा गरौं । बैंकहरुले १४/१५ प्रतिशत व्याजदरमा कर्जा लगानी गरिरहेका छन् । यति महँगो व्याजमा गरिएको लगानी कति जोखिमपूर्ण छ ?

वाणिज्य बैंकहरुले करिव १२ देखि १५ प्रतिशतमा कर्जा लगानी गरिरहेका छन् । विकास बैंक, वित्त कम्पनी, लघुवित्त तथा सहकारीहरुले झन झन् महँगो व्याजमा कर्जा लगानी गरेका छन् । व्याज बढी हुनु मात्र कर्जाको जोखिम आधार मान्न सकिन्न । सहकारीबाट १८/२० प्रतिशत व्याजमा कर्जा लिनेहरुले पनि व्यवसाय विस्तार गरिरहेका छन् । महँगो व्याजमा कर्जा लिनेहरुले रियलस्टेट क्षेत्रमा लगानी गरेका छन् । त्यसमा जोखिम बढी छ । वाणिज्य बैंकहरुले रियलस्टेट क्षेत्रमा कम लगानी गरेका छन् ।

कर्जाको व्याज बढी भएकैले कर्जा डिफल्ट कति छ ?

मेरै जीवनकालमा कर्जाको व्याज ३० प्रतिशतसम्म पुगेको देखेँ । बैंकहरुले ४ वर्षअघि ६ प्रतिशत व्याजमा कर्जा लगानी गरेका पनि थिए । अहिले कर्जाको १२/१४ प्रतिशत व्याज छ । व्याज बढी भयो भनेर विरोधको आवाज पनि सुनियो । तर कर्जा रिकभरीमा बैंकहरुले राम्रै गरेको देखिन्छ । खराव कर्जा अनुपात नराम्रो छैन ।

मलाई त के लाग्छ भने प्रतिस्पर्धाले बैंकका ग्राहकलाई लाभ पुगेको छ । स्प्रेडदर घट्दै गएको छ । स्प्रेडदर कम हुनु भनेको कर्जा लिनेलाई पनि सस्तो हुँदै गएको छ । बैंकमा पैसा राख्नेले पनि उच्च व्याज पाएका छन् । प्रतिस्पर्धाले विभिन्न बैकिङ सेवामा लाग्ने शुल्कहरु घट्दै गएका छन् । धेरै सेवाहरु निःशुल्क भएका छन् ।

आगामी दिनमा बैंकको व्याजदर कस्तो रहला ?

नेपालमा व्याजदरको उतारचढावबारे प्रक्षेपण गर्न गाह्रो छ । सन् २००८ मा अटो लोन ६ प्रतिशतमा पाइन्थ्यो । मुद्दति खातामा बैंकहरुले ३ देखि ४ प्रतिशत मात्र व्याज दिन्थे । २०७२ सालको भूइचालो आउनुपूर्वसम्म बैंकहरुले मुद्दति निक्षेपमा साढे ४ प्रतिशत भन्दा कम व्याज दिएका थिए । बीचमा १२/१३ प्रतिशतसम्म पुग्यो निक्षेपको व्याज । अहिले साढे ९ प्रतिशत छ । विगत दुई वर्षदेखि व्याजदर स्थीर बनाउन बैंकहरुले प्रयास गरिरहेका छन् । निक्षेपको व्याज ९.७५ प्रतिशतभन्दा कम राख्ने र कर्जाको शुरु व्याज १० प्रतिशतभन्दा माथि राख्ने बैंकहरुको प्रयास छ । यस्तो भईरह्यो भने देशको अर्थतन्त्रलाई राम्रो हुन्छ ।

व्याजदरबारे बैंकर्सबीच अहिलेको समझदारी स्थीर रहला ?

इन्टाएर देशको चाहानामा यो समझदारी भएको हो । यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा बैंकहरु एकमत छन् ।
निक्षेपको व्याज ५ प्रतिशतभन्दा कम हुने, फेरी पनि ६ प्रतिशतमा गाडी कर्जा, ७ प्रतिशतमा सेयर कर्जा पाउने दिने कति टाढा छ ?

तत्काल म त्यो सम्भावना देख्दिन । त्यस्तो हुन प्रयाप्त पैसा बजारमा आउनुपर्यो । त्यो लेबलको सप्लाई हुने आधार म देख्दिन । रेमिट्यान्स घट्दो छ । सरकारले पुँजीगत खर्च बढाउन सकेन । निर्याततर्फ उत्साहजनक संकेत छैन । डोमेस्टिक बचत पनि एकदमै स्थीर छ । कर्जाको माग धेरै छ । कम्तिमा ४÷५ वर्ष व्याजदर घट्ने सम्भावना म देख्दिन ।

फेरी सनराइज बैंककै बारेमा कुरा गरौं । तपाईको कार्यकालमा सनराईज बैंकको विजनेश ग्रोथ, लाभांश ग्रोथ कस्तो हुन्छ ?

बैंकको निक्षेप, कर्जा, नाफा, शाखा, ग्राहक लगायतको वृद्धि बजार विकाससँगै जानुपर्छ । मार्केट ग्रोथ ४० प्रतिशत भए हामी त्यसको हाराहारीमा जानै पर्छ । मार्केट ग्रोथ १० प्रतिशत छ भने हामीले मात्र ४० प्रतिशतको ग्रोथ गर्न खोज्यौ भने त्यो बढी जोखिमपूर्ण हुनसक्छ । आज हामी कुनै प्यारामिटरमा १७ औं छौं भने कुनै प्यारामिटरका हामी २३ औं नम्बरमा छौं । चार वर्षमा सनराईज बैंकलाई टप टेनभित्र पुर्याउने मेरो प्रयास हुन्छ ।

टप टेन पुर्याउँछौं भनेर त धेरै सीईओले भन्ने गर्छन् ? कति सजिलो छ टप टेन बन्न ?

मेरो विगतलाई पनि हेर्नुहोस् । मैले पहिला काम गरेको संस्थालाई पनि हेर्नुहोस् । कन्फिडेन्सियल कुरा त म गर्दिन । हामी काम गछौं । यस वर्ष २५ प्रतिशतको ग्रोथ हासिल गर्दैछौं । गत वर्षको पहिलो त्रैमासमा ३३ करोड नाफा थियो भने अहिले ४५ करोड नाफा गरेका छौं । ३७ प्रतिशतले नेट प्रोफिट बढेको छ । यसै वर्ष २५ शाखा विस्तार गछौं । १० लाख ग्राहक पुर्याउने छौं । हाम्रो नारा नै राईजिङ टु सर्भ छ । आफ्ना रणनीतिहरुलाई रिभ्यू गर्दै जान्छौं ।

अप्रत्यक्ष रुपमा तपाईले भन्नुभयो कि आफूले काम गरेको ग्लोवल आईएमई १० टेनमा पुर्यायौं । ग्लोबलमा जनता मर्जपछि टप फाइभमा नै पर्ला । तर त्यहाँ १९ वटा संस्था मर्ज भईसके । के सनराईज बैंक त्यो बाटोमा जादैछ ?

नेचुरल ग्रोथबाट मात्र टप टेनमा पुग्न सजिलो छैन । हालै बैंकको साधारणसभाले मर्जमा जाने बाटो खुला गरेको छ । हामी उपयुक्त संस्थाहरु खोजि गरिरहेका छौं ।

एउटा व्यक्तिगत कुरा गरौ । तपाई संस्थागत सुशासनमा बढी ध्यान दिनुहुन्छ । संस्थाको हितलाई केन्द्रमा राखेर नै काम गर्ने सीईओ भनेर धेरैले चिन्छन् । तर तपाईले उच्चदरमा व्यवसाय विस्तार गर्न सक्नुहुन्न भन्ने आरोप तपाई माथि छ । के भन्नुहुन्छ ?

मैले जति ठाउँमा काम गरे, त्यहाँ विजनेश ग्रोथ छैन वा कम छ भन्ने मलाई लाग्दैन । ग्रोथलाई भित्रसम्म गएर अध्ययन गर्न म तपाईलाई अनुरोध गर्छु ।

तपाईले भनेको सहि के हो भने म कम्प्लाइन्समा सम्झौता गर्दिन । बैकिङ भनेको पब्लिकको संस्था हो । निक्षेपकर्ताको विश्वास जितेर गर्ने व्यवसाय हो बैकिङ । क्षणिक रुपमा एग्रेसिभ विजनेश गर्ने बैंकहरु कम्प्लाइन्सको केसमा गएर चक्नाचुर भएको उदाहरण म धेरै दिन सक्छु । बेलायतमा आधारित बैंक अफ क्रेडिट एण्ड कमर्श इन्टरनेशनल ननकम्प्लाइन्सको केसले ढल्यो । बेलायतको महारानीको बेयरिङ बैंक सिंगापुरको तीन वटा ट्रेड डिलमा ध्वस्त भयो । यूरोपमा ३००/४०० वर्ष चलेको बैंकहरु पनि ननकम्प्लाइन्स केसमा समस्यामा परेका छन् । नन कम्प्लाइन्स केसमा कयौ बैंकले हन्ड्रेडस् मिलियन्स डलर फाइन तिर्नुपरेको छ । यस्तो जोखिम लिएर बैंक चलाउनुहुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.