‘होलबडी’ चेकअपः राजधानीका यी नौ अस्पतालमा लाग्ने शुल्क थाहा पाउनुहोस्

  २०७६ कार्तिक २४ गते ९:३१     डोमी शेर्पा

 काठमाडौ। हामीहरु विभिन्न कारण डाक्टरलाई भेट्ने गर्छौ । कोही स्वास्थ्यमा समस्या आए पछि भेट्न जान्छन् भने कोही नियमित जाँचको लागि जाने गर्छन् । तर, समय समयमा स्वास्थ्य जाँच गराउने व्यक्तिको संख्या एकदमै कम रहेको छ । धेरै मानिसहरु अस्वस्थ वा सामान्य औषधी मार्फत समस्या समाधान नभएको अवस्थामा मात्र डाक्टरकोमा धाउने गर्छन् । यद्यपि स्वस्थ व्यक्तिहरूको लागि नियमित चेकअपको अवधारणा दिन प्रतिदिन बढ्दैछ ।

तपाई हामीले सुन्दै आएका छौ कि स्वास्थ्य नै धन हो भन्ने । यो भनाई केवल एउटा भनाई मात्र होइ,  तर यसमा धेरै सत्यताहरू छन् । यदि तपाईं औषधीबाट टाढा रहन चाहनुहुन्छ र स्वस्थ हुनको लागि बाह्य स्रोतहरूमा कम निर्भर हुन चाहनुहुन्छ भने तपाईले आफ्नो शरीरको राम्रो हेरचाह गर्नुपर्छ । तपाईले जीवनशैली राम्रो बनाउनको लागि सन्तुलित आहार खाने र व्यायाम गरिरहनु पर्दछ । राम्रो स्वास्थ्य गर्मी वा जाडो नभएर जीवनभरको प्रक्रिया हो । एउटा स्वस्थ शरिर सुखी जीवनको आवश्यकता हो । समय समयमा स्वास्थ्य जाँच गर्नुृ स्वस्थ जीवनशैली कायम राख्ने थुप्रै पक्षमध्ये एक हो ।

वार्षिक स्वास्थ्य जाँचको लागि किन जाने ?

बढ्दो प्रदूषण, अस्तव्यस्त जीवनशैली र खानपानले गर्दा आजकल निरोगी मानिस भेट्टाउनै मुस्किल भईसकेको छ । ठूलै रोगले नसताए पनि साना साना रोगले प्रायः मानिसहरुलाई शारीरिक र मानसिक रुपमा सताईरहेको हुन्छ । त्यसैले पनि वर्षमा १ पटक होलबडी चेकअप गर्नुलाई राम्रो मानिन्छ । आफ्नो स्वास्थ्यको जाँच सामान्यतया उपयोगी नै हुन्छ र यो कुनैपनि उमेरमा गर्न सकिन्छ ।

वार्षिक पूर्ण शरीर चेकअप तपाईको सामान्य स्वास्थ्यको आकलन गर्नको लागि गरिने डाक्टरको नियमित वार्षिक भ्रमण हो । भविष्यमा हुन सक्ने ठुलो स्वास्थ्य समस्यालाई रोक्न यो एक महत्वपूर्ण कदम हो । समय समयमा चेकअपको लागि तपाईको डाक्टरले समयमै तपाइको रोग लगाई निदान गर्न सक्दछ । केहि रोगहरूले दोस्रो चरणमा नपुग्दा सम्म लक्षणहरू देखाउँदैनन् । त्यसैले तपाईले आफ्नो स्वास्थ्य नियमित चेकअप गर्न आवश्यक छ । जसरी एउटा गाडि किनेर केहि किलोमिटर दौडिएपछि सर्भिसिङको लागि लगिन्छ त्यसरी नै हाम्रो शरिरलाई पनि डाक्टरको सर्भिसको जरुरी छ ।

कस्तो मानिसले कहिले जाँच गराउने ?

यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ ।यदी तपाईंको उमेर ३०-४० वर्षको बीचमा छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । र, यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।

कुन अस्पतालले लिन्छ कति शुल्क ?

१। अल्का अस्पताल

ललितपुरको जावलाखेल स्थित अल्का अस्पताल एक निजि अस्पताल हो । अस्पतालले होल बडि चेकअपको लागि विभिन्न प्याकेजको व्यवस्ता गरेको छ । विभिन्न प्याकेज अनुसार सामान्य स्वास्थ्य अवस्था जाँच्नको लागि ३ हजारदेखि ७ हजार शुल्क तोकिएको छ । अस्पतालले महिला विशेष प्याकेजको सेवा शुल्क ९ हजार १ सय रुपैयाँले लिने गरेको छ ।

२। ओम अस्पताल

विगत ३९ वर्षदेखि राजधानिको चाबाहिलमा स्वास्थ्य सेवा दिदैं आएको ओम अस्पताल पनि बिरामीको मध्येनजरमा पर्ने मध्येको एक हो । सन् १९८० मा स्थापना भएको यस अस्पतालले विभिन्न किसिमका रोगको उपचार गर्नुका साथसाथै होल बडी चेकअप पनि गर्दै आएको छ । १५० शैयाको यस अस्पतालले होलबडी चेकअपको लागि महिला र पुरुषलाई फरक–फरक शुल्क तोकेको छ । अस्पतालले होलबडी चेकअपको लागि महिलालाई १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषलाई १४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।

३। बि एन बि अस्पताल

विगत २२ बर्ष देखी स्वास्थ्य सेवा दिदै आएको बि एन बि अस्पतालले होल बडी चेकअपको लागि विभिन्न प्याकेजहरुको व्यवस्था गरेको छ । अस्पतालले महिला पुरुष दुवैको सामान्य स्वास्थ्य अवस्थाको लागि जेनेरल हेल्थ प्याकेज राखेको छ, जसको सेवा शुल्क अस्पतालले ५ हजार ५ सय तोकेको छ । अस्पतालले महिला हेल्थ प्याकेजलाई बिशेष प्राथमिकतामा राखेको छ । महिलाको लागि अस्पतालले ९ हजार ५ सयको प्याकेज, ४० बर्ष भन्दा कम उमेरको महिलाको लागि ११ हजारको प्याकेज र ४० बर्ष भन्दा माथिको लागि १२ हजारको प्याकेज गरेर ३ विशेष प्याकेज बनाएको छ । यस्तै पुरुषको लागि सामान्य बाहेक ९ हजार १८ हजारको हेल्थ प्याकेजको व्यवस्था गरेको छ ।

४। नर्भिक अस्पताल

थापाथली स्थित नर्भिक अस्पताल विगत वर्ष देखि उत्कृष्ट सेवा दिदै आएको अस्पताल मध्ये एक हो । अस्पतालले महिला र पुरुषको लागि विभिन्न होलबडि प्याकेजको व्यवस्था गरेको छ । महिलाको लागि ७ हजार ७ सय २० देखि २० हजार ५ सय ५५ रुपैयाको प्याकेज रहेको छ भने पुरुषको लागि ५ हजार ५ सय देखि १७ हजार २ सय ७५ रुपैयाको प्याकेज रहेको छ ।

५। किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल

१३ वर्ष अघि स्थापित ललितपुर महालक्ष्मीस्थानमा रहेको किस्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने ३ हजार सेवा शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

६। ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल

काठमाडौंको टोखामा ९ वर्ष अगाडि स्थापना भएको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल स्वास्थ्य क्षेत्रको पछिल्लो समयको निकै नै आशालागदो अस्पताल हो । ग्राण्डीले होल बडी जाँचको लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ । दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ । १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ । अस्पतालले महिला स्वास्थ्यलाई ध्यानमा राख्दै दुई प्याकेजको व्यवस्था गरेको छ । प्याकेज ६ हजार देखी १५ हजार सम्मको रहेको छ । अस्पतालले महिलाहरुको लागि १६ हजारको अर्को हेल्थ प्याकेजको पनि व्यवस्था गरेको छ। यहाँ बालबालिकाको लागि ३५०० को हेल्थ प्याकेज पनि रहेको छ ।

७। मेडिसिटी अस्पताल

ललितपुर नक्खुमा रहेको मेडिसिटी अस्पताल अहिलेको समयको एकदमै सुविधासम्पन्न अस्पतालमा पर्दछ । यस अस्पतालमा होलबडी चेकअपको लागि ४ हजारदेखि २१ हजार सेवा शुल्क निर्धारण गरिएको छ ।

८। सुमेरु अस्पताल

ललितपुर धापाखेलमा रहेको सुमेरु अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य भएका मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ । यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ । यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ ।

९। वयोधा अस्पताल बल्खु

७ वर्ष अगाडि स्थापना भएको बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो । यहाँ सामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र महिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.