मकवानपुरगढी गाँउपालिका व्यवसायीक कृषि उत्पादन तिर अग्रसर

  २०७६ कार्तिक २३ गते १६:०५     विकासन्युज

काठमाडौं । प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको व्यावसायिक र आधुनिक कृषिमा प्राथमिकता दिने नीतिका कारण मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कृषि उत्पादनमा वृद्धि हुँदै गएको छ । विगतमा चारदेखि पाँच हजार लिटरसम्म उत्पादन हुने दूधको उत्पादन बढेर हाल १० हजार लिटर पुगेको जनाइएको छ । त्यस्तै केरा तथा तरकारीको उत्पादनमा समेत वृद्धि भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कृषिमार्फत समृद्धि हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । “हामी जसरी भए पनि किसानलाई प्रोत्साहन गरेर कृषि उत्पादन वृद्धि गराउने तथा स्वरोजगारको सिर्जना गर्ने अभियानमा छौ”, उनले भने । पालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गरेको तथा पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी गरिहेको उनको भनाइ छ ।

व्यावसायिक दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुरगढी गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक दश हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ जुन यहाँको कूल उत्पादनको आधा भन्दा पनि कम रहेको दुग्ध सङ्कलक बताउछन् । सहकारीमार्फत सङ्कलन हुने दूधमार्फत मात्रै यस गाउँपालिकामा मासिक १ करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिए ।

गाउँपालिकामा हाल ३० वटा ठूला गाईपालन केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसानहरु धेरै रहेको तर उनीहरुको अभिलेख नभएको बुझिएको छ । मकवानपुरगढी गाउँपालिकाको दोस्रो ठूलो उत्पादन यहाँको मालभोग प्रजातिको केरा रहेको छ । त्यस्तै आधुनिक खेती प्रणालीमार्फत मकवानपुर गढीमा दैनिक लाखौंको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् ।
राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.