सनराइज बैंक सञ्चालकको बैठक भत्ता ६६ प्रतिशतसम्म बढ्यो, कसले कति पाउँछन् ?

  २०७६ कार्तिक १७ गते १४:४९     विकासन्युज

काठमाडौं । सनराइज बैंक सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा करिब ६६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरी अध्यक्षको प्रतिबैठक भत्ता ६६ प्रतिशत र सञ्चालकको ६० प्रतिशतले बढेको जानकारी गराएको छ । जुन शुक्रबार सम्पन्न बैंकको १२औ वार्षिक साधारणसभाले पनि पारित गरिसकेको छ ।

प्रतिवेदन अनुसार, समितिको बैठकमा उपस्थित भए वापत बैंकका अध्यक्ष मोतीलाल दुगडले प्रतिबैठक भत्ता २० हजार रुपैयाँ पाउने भएका छन् । त्यस्तै, बैंकका सञ्चालकहरुले बैठकमा उपस्थित जनाएवापत प्रतिबैठक भत्ता १६ हजार रुपैयाँ पाउने भएका छन् । यस अघि बैंकका अध्यक्षले प्रतिबैठक भत्ता १२ हजार र सञ्चालकले १० हजार रुपैयाँ बुझि लिँदै आएका थिए । प्रतिशतका आधारमा अध्यक्षको प्रतिबैठक भत्ता गत आर्थिक वर्षको तुलनामा ६६ प्रतिशत र सञ्चालकको प्रतिबैठक भत्ता ६० प्रतिशतले बढेको हो ।

हाल बैंकको सञ्चालकमा संस्थापक समूहबाट ई. बच्छराज तातेड र मालचन्द दुगड रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट ई. शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल रहेका छन् । त्यस्तै, स्वतन्त्र संचालकमा ओमकृष्ण जोशी र कम्पनी सचिवमा ईश्वर कुमार पाठक रहेका छन् ।

गत आर्थिक वर्षमा बैंकका सञ्चालकले बैठक भत्ता बापत कुल १७ लाख ४४ हजार रुपैयाँ पाएका थिए । उक्त रकम आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी दिइएको बैंकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, तत्कालिन कार्यकारी प्रमुख रत्नराज बज्राचार्यले तलब तथा भत्ता स्वरुप वार्षिक एक करोड २७ लाख २८ हजार रुपैयाँ लिएका थिए । त्यसैगरी, व्यवस्थापन तहका पदाधिकारीहरुले पारिश्रमिक तथा भत्ता सुविधा १२ करोड ७३ लाख ९२ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

बैंकले कर्मचारी सदस्य बाहेक संयोजक र सदस्यलाई प्रतिबैठक भक्ता १० हजार रुपैयाँ दिँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा समितिकोे बैठक ९ पटक बसेको थियो । कम्पनी संयोजकमा ओमकृष्ण जोशी र सदस्यमा शारदा शर्मा पुडासैनी रहेका छन् ।

त्यस्तै, अन्य सुविधामा पनि वृद्धि भएको छ । स्वदेशमा दैनिक भत्ता एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । भारतमा दैनिक भत्ता भारतिय एक हजार भएकोमा बढेर तीन हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, भारत बाहेक अन्य विदेशी मुलुकमा दैनिक भत्ता अमेरिकी डलर १०० रुपैयाँबाट ३०० रुपैयाँ पुगेको छ ।

हालसम्म एनआईसी एशिया, सिटिजन्स, कुमारी, माछापुच्छ्रे, सानिमा, बैंकअफ काठमाण्डू, सिद्धार्थ र सनराइज बैंकले गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रतिवेदन अनुसार उक्त बैंकमध्ये सनराइज बैंकले आफ्ना सञ्चालकलाई सबैभन्दा बढी प्रतिबैठक भत्ता उपलब्ध गराउने भएकाे छ ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार जनकशर्मा पौड्यालले सम्हालेका छन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी, नायव महाप्रबन्धकमा अपछ कुमार यादव र रविन नेपाल रहेका छन् भने सहायक महाप्रबन्धकमा सर्बेन्द्र मिश्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.