प्रभु बैंकले १ अर्बको ऋणपत्र ल्याउँदै, २१ गतेदेखि बिक्री खुला, लगानी गर्नु कति फाइदाजनक ?

  २०७६ कार्तिक ८ गते ९:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैंयाको ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट आवश्यक प्रक्रिया पूरा भएसँगै बैंकले २१ गतेदेखि उक्त रकम बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । सो डिबेञ्चरमध्ये ४० प्रतिशत रकम म्युचुअल फण्डसहित सर्वसाधारणलाई तथा बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।

“१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” नाम दिइएको उक्त ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत हुने तथा परिपक्व हुने अवधि २०८६ साल हुने उल्लेख गरिएको छ । ऋणपत्र किन्नेले बैंकबाट अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।

१००० रुपैंया अंकित मूल्य रहेको प्रभुको यो डिबेञ्चर कम्तीमा २५ कित्ता देखि बढीमा ४ लाख कित्तासम्म किन्न सकिने जनाइएको छ । यो व्यवस्थाले लगानीकर्तालाई २५ हजार रुपैंयादेखि ४० करोड रुपैंयासम्म लगानी गर्ने अवसर जुटाएको छ ।

सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त ऋणपत्रको आवेदन भने आईपीओ वा अन्य हकप्रद शेयरमा गरिएको लगानीजस्तै आस्वा सेवा भएका बैंक तथा वित्तीय संस्थाबाट वा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरोशेयर एप्लिकेसनबाट समेत गर्न सकिन्छ ।

डिबेञ्चरमा लगानी गर्नु कति फाइदाजनक ?

नेपाली धितोपत्र बजारमा शेयरमै लगानीकर्ताको आकर्षण ऋणपत्र वा अन्य वैकल्पिक लगानीमा भन्दा इक्विटीमै गएको हामी देख्न पाउँछौं । निश्चित प्रतिफल हुने तथा शेयरमा त्योभन्दा राम्रो प्रतिफल आउने आशासहित त्यसतर्फ लगानीकर्ताहरुको आकर्षण देखिएको हो ।

तर पछिल्लो समय शेयरमा गरिएको लागनीमा समेत उच्च जोखिम देखिन थालेको अवस्थामा निश्चित प्रतिफल भएका यस्ता धितोपत्रहरुमा लगानी गरेर पोर्टफोलियोलाई बलियो बनाउने प्रचलन समेत अहिले बढेको छ ।

डिबेञ्चरलाई बैंकको मुद्दती निक्षेपसँग तुलना गर्ने चलन पनि अहिले बढ्दै गएको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपमा ९.२५ प्रतिशतमात्रै ब्याज दिइरहेको अवस्थामा १०.२५ प्रतिशतको ब्याजदर भनेको करिब १ प्रतिशतको बढी प्रतिफल हो । त्यसैले पोर्टफोलियोका लागि मात्रै नभएर जोखिमरहित प्रतिफलका लागि पनि यस्ता ऋणपत्रहरु लगानीको उपयुक्त अवसर बन्न सक्छन् ।

ऋणपत्रको ब्याजदर तोकिएको भए पनि बजारमा हुने सम्भावित ब्याजदर उतारचढावबाट हुने अवसर लाभ वा जोखिमबाट भने लगानीकर्ता मुक्त हुने छैनन् । जस्तै बजारमा ब्याजदर घटेर ६/७ प्रतिशतमा झरेको अवस्थामा लगानीकर्ताको मनोवैज्ञानिक लाभ बढी हुन्छ भने ब्याजदर बढेर १२/१३ प्रतिशत पुग्यो भने लगानीकर्ताले प्रतिफल त्यही भएर पनि नोक्सान भएको महसुश गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.