वित्तीय विवरण सार्वजनिकमा पहिलो बन्यो सिटिजन्स बैंक, नाफा ३५ करोड, अरु सूचक कस्ता ?

  २०७६ कार्तिक ८ गते ८:४६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ३५ करोड रुपैंया नाफा कमाएको छ । बैंक तथा वित्तीय संस्थामध्येमै पहिलोपटक त्रैमासिक विवरण सार्वजनिक गर्दै सिटिजन्सले साउनदेखि असोज महिनासम्मको अवधिमा जम्मा ३४ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो आम्दानी बैंक ८ अर्ब ६२ करोडको चुक्तापुँजीका आधारमा वार्षिक १६.२० रुपैंया हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड ८८ लाख रुपैंया नाफा कमाए पनि यो वर्ष भने पहिलो त्रैमासमा बैंकको नाफा घट्न पुगेको हो । प्रतिशेयर आम्दानी नाफा घटे पनि बैंकको मूल्य आम्दानी अनुपात भने करिब १२ गुणामात्रै छ जुन औसतभन्दा राम्रो हो ।

बैंकको नाफा ३४ करोड ९१ लाख रुपैंया भए पनि उक्त रकम विभिन्न कोषहरुमा बाँडफाँड गर्दा शेयरधनीलाई बाँड्न मिल्ने रकम भने २१ करोड रुपैंया मात्रै छ । यद्यपि आर्थिक वर्षको पहिलो त्रैमास भएकोले यो नाफाले त्यति ठूलो महत्व भने राख्दैन । बैंकसँग २ अर्ब ९५ करोडको रिजर्भ छ जुन अघिल्लाने वर्षभन्दा १३ करोड रुपैंयाले बढी हो ।

असोज मसान्तसम्म आइपुग्दा बैंकले निक्षेपतर्फ करिब २ अर्बको सुधार हासिल गर्दा कर्जा प्रवाह करिब साढे ४ अर्बले बढाएको छ । बैंकको निक्षेप संकलन ७२ अर्ब ४३ करोड हुँदा कर्जा प्रवाह ६७ अर्ब ५५ करोड रहेको देखिएको हो ।

बैंकले यो अवधिमा निष्क्रिय कर्जा अनुपातमा भने उच्च सुधार गरेको छ । अघिल्लो वर्ष १.२३ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यो अवधिसम्ममा ०.९८ प्रतिशतमा झार्दा बैंकको लोनलस प्रोभिजन १९६ प्रतिशत पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.३० प्रतिशत, बेसरेट १०.७५ प्रतिशत र सीसीडी रेसियो ७८.४१ प्रतिशत हुँदा पुँजी पर्याप्तता अनुपात भने १२.६६ प्रतिशतको कसिलो विन्दुमा छ । नेपाल राष्ट्र बैंकको परिमार्जित स्प्रेडदर गणना विधिअनुसार बैंकको ब्याजको स्प्रेडदर ४.१६ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको सीमाभित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.