नेशनल बैंकिङ इन्स्टिच्यूटबाट बिदा लिँदै सञ्जीव सुब्बाले भने-‘जीवनमा ठूलो आशिर्वाद पाएँ’

  २०७६ कार्तिक ७ गते १५:४६     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले राजीनामा दिएका छन् । सुब्बाले गत असारमा नै पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृतको प्रक्रियामा रहेको उक्त संस्थाका अध्यक्ष समेत रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

सुब्बाले ९ वर्ष १० महिना उक्त संस्थाको कार्यकारी प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । ‘संस्था स्थापनादेखि नै उहाँ कार्यकारी प्रमुख भएर काम गर्नुभयो । उहाँको भूमिका धेरै राम्रो रह्यो । संस्थाका एकेडेमिक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भए । संस्थाको वित्तीय अवस्था पनि राम्रो छ’ अध्यक्ष निरौलाले बताए ।

‘नेशनल बैंकिङ इन्स्टिच्यूटमा काम गर्ने अवसर पाउनु मेरो लागि ठूलो आर्शिवाद हो’ विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने–‘अब जीवन बुझ्ने र समाजमा सकारात्मक परिवर्तनको लागि भोलुन्टर भएर काम गर्छु ।’

कात्तिक ८ गते सुब्बालाई औपचारिक रुपमा बिदाई गर्ने कार्यक्रम रहेको छ । बैंकिङ क्षेत्रमा अनुभवले खारिएको व्यक्तिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सुम्पने निरौलाले बताए ।

‘खुला प्रतिस्पर्धाबाट छानिएर आएको थिएँ । मेरो हातमा संस्था दर्ता प्रमाणपत्र मात्र थियो’ सुब्बाले भने–‘मैले आफ्ना बलबुताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेँ ।’ गत असार मसान्त सम्ममा यस संस्थाले ५० हजार मानिसलाई क्षमता विकासका तालिम दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको तालिम गर्नमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था गराउने एनविआईले खेलेको भूमिकालाई पनि उनले महत्वपूर्ण उपलब्धिको रुपमा सम्झिए ।

सन् २०१० मा स्थापना भएको नेशनल बैकिङ इन्स्टिच्यूटमा नेपाल राष्ट्र बैंकसहित २१ वटा बैंक तथा वित्तीय संस्थाको सेयर लगानी रहेको छ । एकेडेमिक संस्था भएकोले नाफा जति भएपनि सेयरधनीलाई ५ प्रतिशत मात्र लाभांश वितरण गर्ने नीति यो संस्थाले अवलम्बन गरेको छ ।

संस्थाको नाफाबाट संचित कोषमा १५ करोड २५ लाख रुपैयाँ जम्मा भएको छ । संस्थालाई बलियो बनाउन यसरी कोष वृद्धि गरिएको सुब्बाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.