भारत र बंगलादेशको समन्वयमा उर्जा सम्मेलन हुने, त्रिदेशीय व्यापारमा टेवा पुग्ने

  २०७६ कार्तिक ६ गते १६:४२     विकासन्युज

काठमाडाैं । पावरीङ द एसियन सेन्चुरी भन्ने नाराकासाथ मंसिर ५ गतेदेखि उर्जा सम्मेलन २०१९ काठमाडाैंमा आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) ले आयोजना गर्न लागिएको सम्मेलनमा छिमेकी राष्ट्र भारत र बंगलादेशका प्रतिनिधीहरुको विशेष प्रतिनिधित्व हुने गरी आयोजना हुने इप्पानले जनाएको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले भारत, बंगलादेश र चीनबाट ठुलो संख्यामा सहभागिता रहने जनाएको छ । ति राष्ट्रहरुसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्याण्ड, बेलायत, सयुक्तराज्य अमेरिका र जापानबाट समेत उत्साहजनक सहभागिता रहने जनाएकाे छ ।

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँईले सम्मेलनमा बिज्नेस टु बिज्नेस मिटिङलाई प्रोत्साहन दिइ लगानी तथा ब्यापारमा टेवा पु¥याउने बताए । उनले सम्मेलनमा आधा दर्जन भन्दा बढि बिद्युत व्यापार, वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी उर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु हुने बताए ।

यस्तै इप्पानका उपाध्यक्ष कुमार पाण्डेले हाल नेपालको उर्जा क्षेत्र देशको आवश्यकताभन्दा बढि उर्जा उत्पादन गर्ने अवस्थामा भएकोले उर्जा निर्यातका लागि पनि सम्मेलन मार्फत धेरै बाटाहरु खोलिन सक्ने बताए । ‘सम्मेलनले त्रिदेशीय उर्जा सम्झौता गर्न धेरै सहयोग गर्छ’ उनले भने भारतीय लगानीकर्ता पनि नेपालमा काम गर्न इच्छुक छन्, यसले बंगलादेश र भारतसँगको ब्यापार सम्झौतालाई अझ प्रभावकारी रुपमा अगाडी बढ्न सहयोग पुग्छ ।’

सम्मेलन नेपाल सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको अभिभावकत्वमा आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा र विद्युतसँग सम्बन्धित संघ संस्थाका प्रमुखहरुको समेत सहभागिता रहने छ ।

यस्तै विदेशी अतिथीहरुमा भारतका जलस्रोत मन्त्री गजेन्द्रसिहं शेखावत, बंगलादेशका उर्जा तथा खनिज संसाधन राज्यमन्त्री नास्रुल हमिद रहेका छन् । सम्मेलनमा करिब सात सयभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मलेन मंसिर ५ र ६ गते आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.