खाद्य अभावको चपेटामा ८२ करोड मानिस, भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा

  २०७६ असोज २९ गते १४:२५     विकासन्युज

काठमाडौं । विश्वभर अझै करिव ८२ करोड मानिस खाद्य अभावको चपेटामा रहेका छन् । कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या भोकमरीको सिकार बन्न पुगेको संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

हरेक ५ सेकेन्डमा भोकमरीका कारण ५ वर्ष मुनिका एक जना बालबालिकाको मृत्यू हुने गरेको संगठनले बुधबार प्रकाशित गरेको तथ्याङ्क छ । भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा रहेको छ ।

संयुक्त राष्ट्र संघको पहल र अगुवाईमा दीगो विकासका लक्ष्यहरु कायम गरिएका छन् र ती मध्ये एक महत्वपूर्ण लक्ष्य सन् २०३० सम्ममा विश्वव्यापी रुपमै भोकमरीको अवस्था शुन्यमा झार्ने रहेको छ । पछिल्ला दुई दशकमा विश्वले खाद्य सुरक्षामा राम्रो उपलव्धी हासिल गरेको भएता पनि सन् २०१५ देखि खाद्य सुरक्षाको अवस्था क्रमशः खस्किँदै गएको तथ्याङ्कले देखाएको छ ।

सन् २०५० सम्म विश्वको जनसंख्या करिव १० अर्व पुग्ने र त्यति जनसंख्यालाई आवश्यक खाद्यान्न आपूर्ति गर्न हालको उत्पादन बढाएर दोब्बर बनाउने लक्ष्य रहेको छ ।

३६ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको सन्दर्भमा पाँच वर्ष मुनीका बालबालिकाको दीर्घकालीन कुपोषणको दर करिव ३६ प्रतिशत रहेको छ । नेपालको सन्दर्भमा “हाम्रो पहलः स्वस्थ आहार, भोकमुक्त संसार’’ नारा सहित बुधबार विश्व खाद्य सुरक्षा दिवस मनाइदै छ ।सन् २०१८ मा प्रकाशित विश्व खाद्य संकट प्रतिवेदनले नेपालका करिव ३४ लाख मानिसको लागि खाद्य सहयोग आवश्यक रहेको र करिव ६४ लाख मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको छ ।

विसं २०७३ सालमा गरिएको सर्भेक्षणले देशको अझै पनि आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षाको अवस्थामा रहेको देखाएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुनुको अलावा, गरिवी र यातायातको असुविधाको कारण आपूर्ति एवम् वितरण प्रभावकारी हुन नसक्दा समय समयमा खाद्य संकटको अवस्था सृजना हुने गरेको छ ।

साथै, कृषि पेशा अपेक्षित रुपमा नाफामूलक हुन नसक्दा युवाहरुको आकर्षण बढ्न सकेको छैन । जस्ले गर्दा कमसल प्रकृतिको वैदेशिक रोजगारीमा युवापुस्ताको बाध्यात्मक पलायन बढ्दै जाँदा एकातिर खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ भने अर्को तर्फ श्रमिकको अभाव, श्रम महंगो हुन गइ उत्पादन लागत बढेको छ । यी कारणहरुले गर्दा समग्र कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा कायम गर्न थप चुनौतीपूर्ण बनेको छ ।

सम्भावित भोकमरीको अवस्थालाई सामना गर्न र कृषि क्षेत्रको व्यवसायीकरणबाट राष्ट्रिय समृद्धि हासिल गर्नको लागि सम्बन्धित सबै सरोकारवालाहरुबाट उच्चस्तरको प्रतिवद्धताका साथै हाम्रो कृषि उत्पादन प्रणालीलाई जलवायु अनुकूलन बनाउँदै लैजानु र कृषि क्षेत्रको विकासमा लगानी वृद्धि गर्नु अपरिहार्य रहेकाे कृषि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.