नेपाल र चीनबीच उच्चस्तरका प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता

  २०७६ असोज २६ गते १२:००     विकासन्युज

काठमाडाैं । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत सहभागी छन् ।

वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट वार्ता गरेका छन् ।  राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.