दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने

  २०७६ असोज १९ गते १०:२०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतको नयाँ दिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा दक्षिण एशियाली मुलुकको आर्थिक परिदृश्य विषयमा सम्बोधन गरेका छन् । सम्बोधन कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली मुलुकको विकासका लागि देशहरुबीच एक आपसमा गहिरो आवद्धता, यातायात, उर्जा, सञ्चार लगायतमा वढी कनेक्टिभिटी र वित्तीय एकिकरण हुनु पर्नेमा जोड दिएका छन् ।

उनले आर्थिक विकासको चरण, मानव स्रोत तथा प्राकृतिक स्रोतले दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत ७ प्रतिशतको हाराहारीमा भइरहन सक्ने उल्लेख गर्दै यस क्षेत्रका वस्तु र सेवाको बाह्य मागले समेत यसमा असर पार्ने बताए । दक्षिण एशियाली मुलुकबाट वैदेशिक रोजगारीमा कामदार जाने गरेका र यसबाट प्राप्त रेमिट्यान्स र पर्यटनमा विश्व अर्थतन्त्रमा आएको सुस्तताले असर गर्न सक्ने बताए ।

अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाली व्यापारका क्षेत्रमा दक्षिण एशियाली राष्ट्रहरुबीच एक अर्कामा प्रतिष्पर्धा गर्ने क्षेत्र धेरै भएपनि पर्यटन क्षेत्रमा भने प्रतिष्पर्धा होइन परिपूरक भूमिका रहन सक्ने भनाई राखेका छन् । यस क्षेत्रमा पर्यटनको विकासबाट रोजगारी सिर्जना र आम्दानीको पुनर्वितरणमा सहयोग हुने बताउंदै उनले दक्षिण एसियालीमुलकहरुको सहकार्यवाट पर्यटन विस्तार भई आर्थिक वृद्धिलाई सहयोग पुग्ने कुरा वताए ।

गौतम वुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको देश नेपालले पर्यटकहरुलाई धेरै कुरा दिन सक्ने बताउंदै उनले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउने भएकोले नेपाल भ्रमण गर्नका लागि सहभागीहरुलाई आवहन गरे ।

सम्बोधनका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालले पूर्वाधार क्षेत्रमा वित्तीय अभाव पुरा गर्न सार्वजनिक निजी साझेदारी, समिश्रित वित्त तथा सम्भाव्यता न्यून परिपूर्ति कोष लगायतका लगानीका विभिन्न माध्यम अपनाएको जानकारी गराए । भारत र चीन नेपालमा धेरै वैदेशिक लगानी गर्ने देश भएको उल्लेख गर्दै उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले नेपालमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत भएको उल्लेख गर्दै ऋणको उपयोग गरी लगानी वढाउने र आर्थिक वृद्धि गर्ने ठाउँ भएको बताए ।

अर्थमन्त्री डा. खतिवडाले अमेरिकाका वाणिज्य मन्त्री विलवर रोस, भारतका वाणिज्य मन्त्री पियुस गोयल तथा विभिन्न देशका अर्थमन्त्री र वरिष्ठ अर्थशास्त्री सम्मिलित अनौपचारिक भेटघाटको सेसनमा पनि आफ्ना भनाई राखेका छन् । उक्त सेसनमा अन्तर्राष्ट्रिय व्यापारमा देखिएका चुनौती, द्विपक्षीय तथा बहुपक्षीय व्यापारका विविध पक्ष, वैदेशिक लगानी, रोजगारी सिर्जना, विश्वव्यापार संगठनको प्रभावकारिताका लागि चाल्नुपर्ने कदम, विश्व अर्थतन्त्रमा दक्षिण एशियाली मुलुकको भूमिकालगायत समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रमको समयमा अर्थमन्त्री डा.युवराज खतिवडा र विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड बीच द्धिपक्षीय भेटघाट भएको छ । भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयनमा भएका कार्य, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधार लगायतका विषयमा जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.