नागरिक लगानी कोषले सार्वजनिक गर्यो नागरिक बचत बृद्धि कार्यक्रम

  २०७६ असोज २ गते १९:१४     विकासन्युज


काठमाडौँ । नागरिक लगानी कोषले निश्चित अवधि पछि ‘पे एज यू गो’ को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधान सहितको नागरिक बचत बृद्धि कार्यक्रम सार्वजनिक गरेको छ । संबिधान दिवस २०७६ को अवसरमा शहीद परिवार सम्मान कार्यक्रममा बिहीबार कोषद्वारा प्रवद्र्धित नयाँ योजना सार्वजनिक गरेको हो ।

कोषमा सर्वसाधारण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समय देखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले नयाँ योजना ल्याएको जनाइएको छ ।

कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेट्ने छ । गैर आवाशिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधरणलाई पनि यस कार्यक्रमले समेटने छ ।

यसमा न्यूनतम मासिक रु ५००।– देखी क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ । साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको कोषले जनाएको छ ।

योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरे पश्चात बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशत सम्म सहभागी सापटी उपलब्ध गराइने छ भने २ वर्ष सम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइने जनाइएको छ । यसका अतिरिक्त सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने छ । यस कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरेको छ ।

योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने छ । निजी अस्पतालहरुसंग समझदारी गरेर यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधीउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने बताइएको छ ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथै लगानीका अवसरहरु बढाउन तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने प्रमुख उद्देश्य राखेर नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, राष्ट्रिय बीमा संस्थान, अन्य बैंक तथा वित्तीय संस्थाहरु र सर्वसाधारण जनताको समेत शेयर लगानीमा २०४७ सालमा स्थापना भई नागरिक लगानी कोषले आफ्नो क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ ।

कोषले हाल कर्मचारी बचत वृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना लगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ । २०७६ असार मसान्त सम्ममा कोषले कुल रु.१३१ अर्ब बचत परिचालन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.