डेंगुबाट पर्ने प्रभावबारे पर्यटन मन्त्रालयमा छलफल, विमानस्थल सफा राख्न मन्त्रीको निर्देशन

  २०७६ भदौ ३० गते १६:१६     विकासन्युज


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सक्रियतामा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको बिषयमा सोमबार मन्त्रालयमा छलफल भयो ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, नेपाल होटल संघ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटन वस व्यवसायी संघ लगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त छलफलमा मन्त्री भट्टराईले सन्मुखमा रहेको ‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशर्तकता अपनाउन सबै सरोकारवालाहरुलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिए ।

साथै, नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने बिभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप गर्न गराउन निर्देशन दिए ।
उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सही सूचना सिघ्र प्रवाह गरी यसको असर न्युनीकरण गर्न जोड दिए । उनले खुल्ला क्षेत्र रहेका तथा पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन निर्देशन दिए ।

यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सहसचिव घनश्याम उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.