मदन भण्डारी राजमार्गको डिपिआर शुरु, प्रदेश सरकारले सङ्घीय सरकारसँग माग्यो चार अर्ब 

  २०७६ भदौ ३० गते १२:५२     विकासन्युज

सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण शुरु भएको छ ।

पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा राखेर डिपिआरको काम शुरु गरिएको हो ।

विसं २०५१ मा ट्र्याक खोलिएको सडकको शुरु बिन्दु बड्डीचौर तथा अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुई लेनको हुनेछ । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डिपिआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सिआरसी जिओकम जेभी ललितपुरले काम शुरु गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनभित्र २५/२५ मिटर दायाँबायाँ क्षेत्रफलमा सर्भे गर्नेछ ।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मदन भण्डारी राजमार्ग निर्माण भए पश्चिम सुर्खेतको मुहार फेरिने बताए । सडक र बिजुली विकासको मेरुदण्ड भएकाले सङ्घीय सरकारले ढिलासुस्ती गर्न नहुने उनको भनाइ थियो ।

त्यसैगरी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले २०५१ सालमा खोलिएको ट्र्याकले अहिले पूर्णता पाउँदा खुशी लागेको बताएका छन् । “त्यतिबेला जन्मिएको बच्चा अहिले तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ”, उनले भने, “स्थानीय तहमा आउने बाधा अवरोधको सहजीकरण गर्न सदैव तयार छौँ ।”

सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले मङ्सिर महिनाभित्र डिपिआर सम्पन्न गर्न कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग रु चार अर्ब बजेट माग गरिएको जानकारी उनले दिए । १३२ केभी कोहल्पुर सुर्खेत प्रसारणलाइन विस्तार, बड्डीचौर बेनिघाट सडक, काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव, पुल लगायतका योजनालाई सञ्चालन गर्न सफल भएको उनको भनाइ छ ।

सर्भेका क्रममा आइपर्ने विभिन्न समस्या समाधानको नेतृत्व स्थानीय सरकारले लिनुपर्ने भन्दै सांसद रावतले मङ्सिरभित्र डिपिआर सक्ने, माघभित्र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, चैत महिनामा टेण्डरको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.