लामखुट्टेको लार्भा नष्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै पनि उपाय छैन: डा. अनुप बास्तोला

  २०७६ भदौ २३ गते १३:२१     डोमी शेर्पा

काठमाडौं। देशभर डेंगुले मानिसहरुको जीवन प्रभावित भएको छ। जाडोमा केही समय लुकेर बस्ने र गर्मी महिनाको आगमनसँगै सकृय हुने डेंगुले यसपटक भने महामारीको रुप लिएको हो। धरानबाट सुरु भएको डेंगु हालै देशको ४८ जिल्लामा फैलिसकेको छ।

गत सालहरुमा काठमाडौंमा फाट्टफुट्ट देखिएको डेंगुका बिरामीको संख्या यसपटक भने असामान्य तरिकाले बढेको छ। काठमाडौंका अस्पतालहरु डेंगु परीक्षण गर्ने मानिसको चाप बढेको बढ्यै छ। अझै स्वास्थ्य मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पतालमा डेंगु जाँच निशुल्क गराएपछि अस्पताललाई बिरामीको चाप थेग्न गार्हो भएको हो।

बिरामीको चाप अत्याधिक बढेका कारण वीर अस्पतालमा पनि शुक्रबारदेखि डेंगु परीक्षण थालिएको छ। सरकारी तथ्यांकले ३ हजार ८ सय ९९को हाराहारीमा डेंगुको बिरामी देखाए पनि बिरामीहरु यसको दोब्बर भएको डाक्टरहरु बताउँछन्।

शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै दैनिक १५० जना भन्दा बढी व्यक्तिहरुमा डेंगु देखिएको छ। यसबाहेक देशका अन्य निजी अस्पतालहरुमा पनि बिरामीको चाप बढेको बताउँछन्। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्रै सेप्टेम्बर १ देखि ४ तारिखको अवधिमा मात्रै ३८४ जना व्यक्तिले डेंगु परीक्षण गराएका छन्। ४ दिनको अवधिमा परीक्षण गराएका ३८४ मध्ये १४४ जनामा डेंगु पोजिटिभ देखिएको छ। जबकी सरकारी तथ्यांकले २ महिनाको अवधिमा काठमाडौंमा २५४ मा डेंगु देखिएको बताउँछ।

मानिसहरुको बिच अहिले त्रासको रुपमा रहिरहेको डेंगुलाई यदी हामीले थोरै मात्र पनि ध्यान दियौं भने सजिलै रुपमा यसबाट बच्न सक्छौं। टेकु अस्पतालका डा. अनुप भन्छन्,’जब मानिसहरुले लामखुट्टेको लार्भा नै कस्तो हुन्छ भनेर चिन्दैनन् त कसरी डेंगुको नियन्त्रण हुन्छ।’ मानिसहरुले सरसफाइलाई ध्यान दिएर घर अगाडिका पानी जमेका ठाउँहरु पुरिदिने, खाली भाँडामा जम्मा भएका पानी फ्याँकिदिने र घर बाहिर निस्कँदा लामो बाहुला भएका लुगा लगाउने हो भने डेंगुबाट डराउनु पर्ने कुरै छैन।’

उनी भन्छन्, लार्भा नस्ट नगरेसम्म डेंगुबाट बच्ने कुनै उपाय नै छैन।’

कसरी लाग्छ डेंगु ?

कुनै पनि क्षेत्रमा डेंगु देखिनको लागि उक्त क्षेत्रमा संक्रमित लामखुट्टे हुन जरुरी छ। जब ती संक्रमित लामखुट्टेले फुल पार्छ त्यसमा भएको डेंगुको संक्रमण बच्चामा सर्न गई मानिसलाई टोकेको खण्डमा सर्न जान्छ। साथै यदी कोही संक्रमित मानिस आवातजावत गर्छ र उसलाई आवतजावतको क्रममा कुनै लामखुट्टेले टोकेको अवस्थामा उक्त लामखुट्टे संक्रमित भई अन्तत अन्य लामखुट्टेमा उनको संक्रमण सर्न जान्छ।

लामखुट्टेको लार्भा

एडिज इजीप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । पानी जम्ने ठाउँ, साना खाल्डाहरुमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यस्ता ठाउँहरुमा यो लामखुट्टेले अण्डा पार्दछ।

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र दिउँसोको समयमा मानिसहरुलाइ टोक्ने गर्दछ। यो लामखुट्टेको खुट्टामा सेतो मार्किङहरु र ढाडको माथिल्लो भागमा वीणा आकारका मार्किङहरु रहेको हुन्छ​, जुन अरु प्रजातिका लामखुट्टेमा पाइदैन।

कुन समयमा लामखुट्टे बढी सकृय हुन्छन् ?

लामखुट्टेहरु विशेष गरेर दिउँसोको समयमा सकृय हुन्छन्। अझै दसैंको समयमा यो बढी सकृय हुने गर्दछ। उक्त समयमा लामखुट्टेको अण्डाहरु पानीसँग बगेर ठाउँठाउमा पुग्ने, मानिसहरु अत्याधिक आवतजावत गर्ने समय भएको कारण मानिसहरुबाट सर्ने गर्दछ।

लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

– असाध्यै टाउको दुख्ने
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
– शरीरमा बिमिरा आउने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?

– पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्ने
– ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बगाउने। यसले लामखुट्टेको प्रजननमा बाधा पुर्याई नियन्त्रण गर्न सजिलो बनाउँछ।
– जुनै समयमा पनि सुत्दा अनिवार्य झुल प्रयोग गर्ने, बजारमा अहिले झुलमा पर्नेबितिकै लामखुट्टे मर्ने झुल पाइन्छ, यसको प्रयोग गर्ने
– घरका झ्याल–ढोकामा लामखुट्टे भित्र जान नदिन जाली प्रयोग गर्न
– लामखुट्टेको टोकाइबाट बच्न पाइने क्रिमको प्रयोग गर्ने, सुत्ने वेलामा जिउमा क्रिम लगाएर बिहान नुहाउने
– घर बाहिर जाँदा लामो बाहुला भएको कपडाको प्रयोग गर्ने

विश्वव्यापी अवस्थाहरु

विगत केही दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्याधिक रुपमा बढ्दै गइरहेको छ । बितेको ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइन्छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेका छन् : १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिसहरु यस रोगको जोखिमको क्षेत्रमा बसोबास गर्दछन् । प्रत्येक वर्ष झन्डै ३९ करोड डेंगु रोगको संक्रमण हुने गर्दछ भने २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गर्दछ ।

मृत्‍युदर

सामान्य डेँगुमा मृत्यु हुने सम्भावना ज्यादै न्यून हुन्छ। २००४ देखी २०१९ सम्मा आउँदा नेपालमा डेंगुको कारण १५ जनाको मात्रा मृत्‍यु भएको छ। Dengue Haemorrhagic Fever (DHF) and Dengue Shock Syndrome (DSS): कुनै उपचार नगरेको खण्डमा ५० प्रतिशतसम्म बिरामीको मृत्यु हुन सक्छ। समयमा राम्रो उपचार पाएको खण्डमा मृत्युदरलाई १-२% सम्म झार्न सकिन्छ।

(सरुवा रोग बिशेषज्ञ अनुप बास्तोलासँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.