सरकारको झन्झटिलो प्रक्रियाले गर्दा विदेशबाट २० अर्बको फर्निचर आयात भैरहेको छ : रुपेश प्रधान

  २०७६ भदौ २० गते १९:३०     विकासन्युज

हरियो वन नेपालको धन भन्ने भनाइ हामीले सुनिरहेका छौ । करिव ४४ प्रतिशत वनले ओगटेको नेपालमा ६० प्रतिशत फर्निचर आयात हुने गरेको छ । सम्रगमा नेपालमा फर्निचरको अवस्था कस्तो छ ? फर्निचरमा नेपाल आत्मनिर्भर हुन सक्छ कि सक्दैन अर्थात आत्मनिर्भर हुनका लागि के कस्तो पहल कदमीको आवश्यक छ ? सातौं फर्निचर एन्ड फर्निसिङ एक्स्पोको तयारी के कसरी भइरहेको छ ? यस विषयमा नेपाल फर्निचर एन्ड फर्निसिङ एसोसिएसनका अध्यक्ष रुपेश प्रधानसँग विकासन्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीः

यस वर्ष हुन लागेको ७ औं फर्निचर एन्ड फर्निसिङको एक्स्पोको तयारी कस्तो छ ? उपभोक्ताका लागि नयाँ के आउँदैछ एक्स्पोमा ?

पछिल्लो समय विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि प्रयोग भएका फर्निचरहरू याे एक्स्पोको मुख्य आकर्षण हुनेछ । नेपालमा निर्मित र विदेशबाट आयातित सामानहरू फर्निचर एन्ड फर्निसिङ एक्स्पो रहने छन् । एक्स्पोमा १ सय २० वटा स्टल रहने छ । नेपाली र विदेशी ब्रान्डका फर्निचरहरुको जानकारी एक्पोमा दिइने छ । ब्रान्ड बुझे पछि कुन फर्निचर कस्तो हो भनेर उपभोक्ताहरूले आफै बुझ्न सक्नु हुन्छ ।

नेपाल काष्ठकलामा उत्कृष्ट भएपनि विदेशबाट फर्निचर आयात हुन्छ, त्यो किन ?

हो, हामी काष्ठकलामा विश्वमा उत्कृष्ट छौं । सबैले हाम्रो काष्ठकला प्रयोग गर्न सकदैन्न । हाम्रो काष्ठकला अलि मंह्गो छ । नेपाली काष्ठकला धेरै मेहनत गरेर बनाइन्छ । विदेशी फर्निचरहरूमा प्रविधिको प्रयोग गरेर थोरै खर्चमा धेरै फर्निचरहरु उत्पादन भइरहेका छन् । मूल्यका कारणले नेपाली फर्निचरभन्दा विदेशी फर्निचरको प्रयोग बढी भएको हो । नेपाल काठमा धनी छ ।

तर, सरकारले काष्ठ उद्योगलाई प्रवद्र्धन नगर्दा विदेशी काठ आयात बढ्दै गएको छ । अद्यावधिक काठ नीतिमा सरकाले ध्यान जानु जरुरी छ । सरकारले पनि वनमा धनी रहेको देशमा काठ आयात भएको विषयलाई चासोका साथ हेर्नु पर्ने हुन्छ । अनि मात्रै देश फर्निचरमा आत्मनिर्भर हुन्छ ।

प्रविधिको प्रयोग हुन नसक्दा नेपाली फर्निचर मह्गो भएको हो त ?

नेपालमा बनेका फर्निचरहरू प्राय हस्त निर्मित हुन्छन् । हस्त निर्मित भएकाले नेपाली सामानहरू बलियो र टिकाउ हुनका साथै मूल्य पनि बढी परेको हो । जुन सुकै राम्रो सामानको मूल्य सामान्य भन्दा मंहगो हुन्छ नै । त्यसैले नेपाली काठ पनि अन्यभन्दा मंहगो भएको हो । विदेशी फर्निचर बनाउदा मेशिनको प्रयोग भएको हुन्छ । विदेशमा कच्चा पदार्थ र श्रम पनि सस्तो छ । हाम्रो देशमा मह्गो श्रमका साथै कच्चा पदार्थ नि विदेशबाट आयात गर्नुपर्छ ।

फर्निचर क्षेत्रमा कति लगानी भएको छ ? वार्षिक कति कारोबार हुन्छ ?

नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा १८ देखि २० अर्ब रुपैयाँ लगानी भएको अनुमान छ । लगानी वृद्धि हुने क्रममा छ । यो क्षेत्रमा वर्षमा करिब ४० अर्बको कारोेबार हुने गरेको छ । सो कारोबारमध्ये १८ देखि २० अर्ब मूल्य बराबरका फर्निचर तथा फर्निचरका सामानहरू विदेशबाट आयात हुने गरेको छ । फर्निचरमा नेपाल र विदेशको करिव आधा/आधा हिस्सा रहको छ ।

फर्निचर व्यवसायी कति छन् र यसमा कतिले रोजगारी पाएका छन् ?

नेपालको फर्निचर क्षेत्रमा करिब ५ हजार व्यवसायीहरू आवद्ध छन् । फर्निचर क्षेत्रले ५ लाखलाई रोजगारी प्रदान गरेको छ । यो क्षेत्रमा कामदारको अभाव छ । फर्निचर क्षेत्रमा ६० प्रतिशत कालिगढहरू भरतबाट आउने गरेका छन् ।

तपाईले श्रमिक छैन भन्नु भयो, नेपालमा नै कालिगढ उत्पादन गर्न केही गर्नु भएको छैन ?

श्रम मन्त्रालयसँग मिलेर हामीले तालिम प्रदान गर्ने लक्ष्य लिएका छौं । तालिम पछि नेपालकै बेरोजगार युवाहरूले रोजगार पाउँछन् । यो तालिमले फर्निचर निर्माण गर्ने मानव संसाधन नेपालमा नै उत्पादन हुन्छ । तालिमबाट उत्पादित कालिगढहरूले नेपालमा राम्रो पारिश्रमिका साथ रोजगारी पाउँछन् ।

नेपालमा ठूला भवान निर्माण हुँदा किन नेपाली काठको प्रयोग हुदैन ?

मागअनुसार नेपाली काठ उपलब्ध हुन नसक्दा ठूला भवन निर्माणमा विदेशी काठको प्रयोग हुने गरेको हो । ठूला ठूला भवन निर्माण गर्नेले जुन काठ सहज र सरल तरिकाबाट प्राप्त हुन्छ त्यहिनै प्रयोग हुँदै आएको छ । नेपाली काठभन्दा विदेशी काठ सस्तो हुनाका साथै सहज तरिकाले बजारमा पाइन्छ ।

त्यसो भए नेपालमा काठ व्यवसायमा ठूलो समस्या छ, होइन त ?

यो व्यवसायमा सबैभन्दा ठूलो समस्या नै काठमा छ । यदि सरकारले सहजसँग काठ उपलब्ध गराउने हो नेपाली बजारमा खपत हुने ९० प्रतिशत उत्पादन नेपाल मै निर्माण हुन सक्छ । हामीले आयात दरलाई १० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ कि फर्निचर व्यवसायीहरुले काठ सिधै वन विभागबाट पाउने व्यवस्था छैन । हामीले सहज रुपमा काठ नपाएका कारण बाहिरबाट काठ आयात गर्नु परेको हो । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने मुख्य कुरा हो । मलेसियन र भारतबाट फर्निचर बन्ने काठ आयात हुन्छ । चाईनाबाट प्लाईहरु बढी आउँछन् ।

नेपाली अग्राख, सिसौ र सल्लोका काठ विश्वमै बलियो मानिन्छ होइन ?

व्यवसायीहरुले बाध्यताले मात्र विदेशी काठ झिकाएका हुन् । नेपाली अग्राख, सिसौ र सल्लोका काठ जस्तो विदेशी काठ टिकाउ हुँदैन । हामीले वन मन्त्रालयसँग काठ सहज र सरल बनाउन पर्यो भनि रहेका छौ । मन्त्रालयमा हुन्छ भन्छन र काठ पाइँदैन ।

फर्निचरको बजार कस्तोे छ ? कुन देशबाट धेरै फर्निचर आयत हुन्छ ?

सबैभन्दा बढी चाइनाबाट काठ आयत हुन्छ । चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयात हुने गर्दछ । एउटा टि–टेबल कै २ लाखसम्म मूल्य पर्ने गरेको छ ।

काठका उत्पादनमध्ये कुन बढी बिक्री हुन्छ ?

नेपाली काठका उत्पादनमा सबैभन्दा बढी पलङ र टेबल बिक्री हुने गरेको छ । यिनीहरू महंगो भए पनि बलियो हुन्छ भनेर नेपालीले बुझेका छन । आम ग्राहकले पाएसम्म नेपालमा बनेको पलङ र टेबल किन्न रुचाउँछन् । तर नपाएको खण्डमा चिनियाँ काठ किन्न वाध्य हुन्छन् ।

फर्निचर व्यवसायीलाई नेपाली काठका उत्पादन बिक्री गर्नभन्दा विदेशीबाट बढी फाइदा हुन्छ हो ?

फाइदा त उस्तै उस्तै हो । लागत भने कम पर्छ । एउटा नेपाली काठ २० हजार पर्छ भने विदेशी काठ १५–१६ हजार रुपैयाँ पर्न जान्छ । विदेशी काठ सजिलोसँग पनि बजारमा उपलब्ध हुन्छ भने नेपाली उत्पादनको लागि अडर दिनुपर्ने हुन्छ ।

नेपाली कार्पेटको स्थिति कस्तो छ नि ?

आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भएका छौँ । आयात पनि बन्द भएको छ । यस वर्षको एक्स्पोमा २ वटा नयाँ ब्रान्डको कार्पेट पनि आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.