एकवर्षमै ट्रेडमार्क दुरुपयोगका ८११ मुद्दा, ‘हच्किन्छन् लगानीकर्ता’

  २०७६ भदौ ३ गते १८:३०     राजाराम न्यौपाने

काठमाडौं । ट्रेडमार्क दुरुपयोग र चोरी गर्नेको संख्या बढ्दै गएको छ । यसरी ट्रेडमार्क दुरुपयोग गर्नेहरुलाई कारवाहीको माग गर्दै आव २०७५/७६ मा उद्योग विभागमा ८११ वटा उजुरी दर्ता भएको छ । विभागका धेरैजसो उजुरी नक्कली कस्मेटिक सामान उत्पादन गर्ने उद्योग विरुद्ध परेका छन् ।

नक्कली घडी, क्याल्कुलेटर, फेयर एण्ड लब्ली जस्ता क्रिमहरु उत्पादन गर्ने र ट्रेडमार्क दुरुपयोग गर्ने विरुद्ध विभागमा परेका हुन् । उद्योग विभागको कानून शाखाका उपसचिव टंक महतले गत आवमा ८ सय ११ वटा उजुरी परेको बताए । ती उजुरी मध्ये २ सय ७७ वटा फैसला भैसकेको र बाँकी ५ सय ३४ वटा फैसला हुने क्रममा रहेको छ–उनले भने ।

ट्रेडमार्क दुरुपयोगको आरोपमा कारबाही गर्न बहुराष्ट्रिय कम्पनी र नेपाली कम्पनीहरुले उजुरी गर्नु पर्छ । कुनै कम्पनीले आफ्नो ट्रेडमार्क दुरुपयोग भएको विभागमा उजुरी दियो भने कारवाही हुने उपसचिव महतले बताए । गत आर्थिक वर्षमा स्वदेशी १ हजार २५६ र विदेशी १ हजार १७५ गरी २ हजार ४३१ वटा ट्रेडमार्क दर्ता भएका थिए ।

ट्रेडमार्क दुरुपयोगका घटनाले हच्किन्छन् लगानीकर्ता
ट्रेडमार्क चोरी र दुरुपयोगको अवस्था हेरेर मात्रै विदेशी लगानीकर्ताले नेपालमा लगानी भित्र्याउने विषयमा निर्णय लिने गरेको विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहरा बताए । आफ्नो बौद्धिक सम्पति र सिर्जनाको सुरक्षा नहुने ठाउँमा लगानी गर्न हच्किने अवस्था सिर्जना हुने उनी बताउँछन् ।

के छ कानुनी व्यवस्था ?
नेपालमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२, पहिलो संशोधन २०४४ अनुसार आधिकारिक कम्पनीको अनुमति बिना ट्रेडमार्क प्रयोग गर्न पाइन्न । ऐनको दफा १९ मा गैरकानुनी ढंगबाट ट्रेडमार्क प्रयोग गर्न नपाइने उल्लेख छ भने दफा १८ (ख) ले विभागमा दर्ता नगरार्इ कुनै ट्रेडमार्क पनि रजिष्टर्ड ट्रेडमार्कको रुपमा प्रयोग गर्न नपाइने भनेको छ । बिनाअनुमति ट्रेडमार्क प्रयोग गरिए जरिवाना र सामान जफत गरिने ऐनमा उल्लेख छ ।

ट्रेडमार्क के हो ?
उद्यमीले धेरै किसिमका वस्तु तथा सामानहरू उत्पादन गर्न सक्छन् । एउटै उद्योगमा पनि धेरै ब्राण्डहरु हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्राण्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ । यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसाय भन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन ।

ट्रेडमार्कको चोरी गर्यो भने के सजाय हुन्छ ?
ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाख सम्मको जरीवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसंग सम्बन्धित सबै कुराहरू नेपाल सरकारले जफत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.