बमबहादुर मिश्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, राष्ट्र बैंकका सबै विभाग पूर्ण

  २०७६ साउन २३ गते २१:२६     विकासन्युज

काठमाडौं । बमबहादुर मिश्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन् । नियमन विभागका तात्कालिन कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको अनिवार्य अवकाशसँगै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी पाएका मिश्रलाई बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले कार्यकारी निर्देशकमा बढुवा गरेको हो । यसअघि नियमन विभागमा रहेका मिश्रलाई हाल भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिइएको छ ।उनकाे बुढवासँगै राष्ट्र बैंकका सबै विभागले पूर्णता पाएका छन् ।

वाणिज्य बैंकको अधिकृतस्तरमा करिब ८ वर्षको अनुभवपछि २०५९ साल साउन २७ गते सहायक निर्देशकका रुपमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका मिश्रले १७ वर्षको अवधिमै कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । सुपरीवेक्षण विभाग, वीरगञ्ज कार्यालय, विदेशी विनिमय विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा लामो समयको कार्यानुभव रहेका उनको विज्ञता भने नियमन, सुपरीवेक्षण र विदेशी विनिमय क्षेत्रमा छ ।

शैक्षिक पृष्ठभूमि विज्ञान विषय भएका मिश्रले त्रिभुवनबाट व्यवसायिक प्रशासनमा स्नातकोत्तर (एमबीए) तथा कानूनमा स्नातक (एलएलबी) समेत गरेका छन् भने जापानको टोकियोस्थित नेशनल ग्राजुएट इन्सिच्युट फर पोलिसी स्टडिजबाट आर्थिक नीतिमा एमफिल समेत गरेका छन् । उनको स्थायी ठेगाना  भने झापाको दमक हो ।

नेपाल राष्ट्र बैंकको यो वर्षको कार्यसूचीमा रहेको नेशनल गेटवे पेमेन्ट सिस्टम तथा रियल टाइम ग्रस सेटलमेन्ट जस्ता महत्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्ने भुक्तानी प्रणाली विभागको जिम्मेवारी पाएका मिश्रलाई त्यस्ता कार्यक्रमरुको सफल कार्यान्वयनमार्फत् देशको भुक्तानी प्रणालीलाई सुरक्षित, व्यवस्थित र आम जनताको पहुँचसम्म पुर्याउँदै डिजिटल नेपाल निर्माणको सरकारी लक्ष्य पूरा गर्ने जिम्मेवारी काँधमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.