सरकारी गाडी किन्न पाँच वर्षमा २४ अर्ब भन्दा बढी खर्च

  २०७६ साउन १२ गते १४:३८     विकासन्युज


काठमाडौं । पाँच वर्षको अवधिमा सरकारी गाडी किन्न नेपाल सरकारको ढुकुटीबाट २४ अर्ब भन्दा बढी खर्च भएको छ । उक्त अवधिमा सरकारले ४९ खर्ब ६२ अर्ब १९ करोड ०६ रुपैयाँको बजेट ल्यायो, त्यसमध्ये रु. २४ अर्ब ९ करोड ९९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ सरकारी सवारी साधनमा खर्च भएको हो ।

कुन आवमा कति खर्च  ?
आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ६ खर्ब १८ अर्ब रुपैयाँको बजेट घोषणा गरे, जसमा २ अर्ब ७१ करोड ३३ लाख ४० हजार ३५७ रुपैयाँ सवारी साधन खरिदमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, आव २०७२/७३ मा पनि तत्कालीन अर्थमन्त्री डा. महतले नै ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार रुपैयाँको बजेट सार्वजनिक गरे, उक्त बजेट मध्ये २ अर्ब २१ करोड ९६ लाख ७१ हजार ८०८ रुपैयाँ गाडी किन्दामा खर्च भयो ।

यसैगरी आर्थिक वर्ष २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ९ खर्ब ५३ अर्ब ६६ करोड रुपैयाँको बजेट सार्वजनिक गरे, जसमा ६ अर्ब ७१ करोड ३४ लाख ११ हजार २१७ रुपैयाँ सरकारी गाडी खरिदमा खर्च भएको थियो ।

यता, २०७४/७५ सालमा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट प्रस्तुत गरेमा सवारी साधन खरिदमा ६ अर्ब ६१ करोड ४५ लाख ३७ हजार ३ सय २४ रुपैयाँ खर्च भएको थियो ।

गत आव २०७५/७६ मा अर्थमन्त्री डा.युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ५ खर्ब ८३ करोड ८९ लाख ९२ हजार ७७९ रुपैयाँ सवारी साधनमा खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.