खाद्यान्नको मूल्य बढ्यो, काठमाडौंमा सबैभन्दा महङ्गो

  २०७६ साउन ३ गते १९:२३     विकासन्युज

काठमाडौं । बजारमा पछिल्लो समय खाद्यान्न, तरकारी तथा पेय पदार्थको मूल्य बढेको छ । बैंकले गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो । आव २०७४/७५ मा खाद्यान्नको मूल्यवृद्धि ३ प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो आवको जेठमा ११ प्रतिशतले बढेको तरकारीको मूल्य गत जेठमा मूल्य बढेर १४.६ प्रतिशत पुगेको छ । सो अवधिमा तरकारीको मूल्य ७.६ प्रतिशतले बढेको छ भने खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ ।

सो समूहको मूल्य बढेपनि गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिमा भने थोरै परिवर्तन आएको छ । अघिल्लो आवको जेठमा ५ प्रतिशतले बढेको मूल्य वृद्धि गत जेठमा पुग्दा ५.७ प्रतिशत पुगेको छ । यस समूहअन्तर्गत घरायसी सेवा तथा उपयोगका सामान र लुगा जुत्ताको मूल्य अघिल्लो आवको तुलनामा केही बढेको छ ।

क्षेत्रगत रुपमा काठमाडौं सबैभन्दा महङ्गो र पहाड सबैभन्दा सस्तो देखिएको छ । अघिल्लो आवमा हिमाल सबैभन्दा महङ्गो र काठमाडौं सबैभन्दा सस्तो थियो । छिमेकी मुलुक भारतभन्दा नेपाली बजारमा खाद्यान्न तथा गैर खाद्य पदार्थ करिब दोब्बर महङ्गो भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख गरिएको छ ।

शोधनान्तर ९१ अर्ब घाटामा

गत आवको ११ महिनामा मुलुकको शोधनान्तर घाटा ९० अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा यस्तो घाटा चार अर्ब ३४ करोडमात्रै थियो । निर्यातको तुलनामा आयातको कम हुँदा यस्तो घाटा बढेको हो । शोधनान्तर भन्नाले मुलुकमा भित्रने र मुलुकबाट बाहिरिने रकमको अन्तर हो । वस्तु व्यापारमा मात्र नभएर पछिल्लो समय सेवा व्यापारमा समेत घाटा बढ्दै गएपछि यस्तो अवस्था देखिएको हो ।

गत आवको जेठसम्म आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । निर्यात भने जम्मा ८७ अर्ब ८३ करोड रुपैयाँमात्रै भएको छ । आयातको तुलनामा निर्यात कम हुँदा ब्यापार घाटा उच्च दरले बढ्दा चालु खाता घाटा अघिल्लो जेठको तुलनामा करिब ३८ अर्ब रुपैयाँले बढेको छ । गत जेठमा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सो अवधिमा चालु खाता घाटा २ खर्ब १० अर्ब २४ करोड रुपैयाँ थियो ।

११ महिनामा ५३ अर्ब ३८ करोडमात्रै आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो आवको जेठसम्म १ खर्ब ४४ अर्ब ७५ करोड आन्तरिक ऋण परिचालन गरेको थियो ।

सरकारको नगद मौज्दात बढ्यो, विदेशी संचिति घट्यो

गत जेठसम्म सरकारको नगद मौज्दात एक खर्ब ६४ अर्ब पुगेको छ । सो मौज्दातमध्ये ६३ अर्ब २२ करोड स्थानीय तहको खातामा रहेको रकम हो । पछिल्लो महिनामा विदेशी सञ्चिति घट्दै गएको छ । अघिल्लो असारमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको विदेशी संचिति गत जेठसम्म आइपुग्दा घटेर १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ । अमेरिकी डलरमा हिसाब गर्दा १० अर्ब ८ करोड संचिति रहेकोमा ९ अर्ब २५ करोडमा झरेको छ ।

११ महिनामा ८ खर्ब रेमिट्यान्स भित्रियो

जेठसम्म ११ महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । उक्त रेमिट्यान्स अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.