केपी ओलीले ‘फस्ट डिभिजन’ ल्याएनन्, अर्थमन्त्री डा. खतिवडा ‘जस्ट पास’

  २०७६ असार २७ गते १३:५५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम समय आईपुग्दा प्रधानमन्त्री केपी ओली फस्ट डिभिजनमा पास हुन असफल भए भने अर्थमन्त्री डा. युवराज खतिवडा जस्ट पास मात्रै भएका छन् । सरकारले यसपाली मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका लागि १ खर्ब ५६ अर्ब २८ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो ।
असार २५ गते आईपुग्दा प्रधानमन्त्री ओलीको कार्यालयले जम्मा ८२ अर्ब ९४ करोड ३३ लाख मात्रै खर्च गर्न सकेको छ, जुन कुल विनियोजनको ५३.०७ प्रतिशत मात्रै हुन्छ । प्रधानमन्त्री कार्यालयले ३० अर्ब पुँजीगत र ५२ अर्ब चालु खर्च गरेको छ । यो कार्यालयलाई ९७ अर्ब चालु र ५८ अर्ब पुँजीगत बजेट विनियोजन गरिएको थियो । जम्मा ५३.०७ प्रतिशत अंक ल्याएर ओली फस्ट डिभिजनमा पुग्न असफल भएका हुन् ।

उता, अर्थमन्त्री खतिवडा भने जस्ट पास भएका हुन् । अर्थमन्त्रालयले असार २५ गतेसम्ममा जम्मा ३३.६६ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । अर्थमन्त्रालयका लागि यसपाली १९ अर्ब २८ करोड २८ लाख रुपैंयाँ विनियोजन गरिएको थियो । सोमध्ये १२ अर्ब ५४ करोड ७० लाख रुपैंयाँ चालु खर्च थियो भने ६ अर्ब ७३ करोड ५८ लाख रुपैंयाँ पुँजीगत खर्च थियो ।

अर्थमन्त्रालयले पाँच अर्ब १५ करोड २० लाख रुपैंयाँ चालु खर्च गरेको छ भने १ अर्ब ३३ करोड ९६ लाख पुँजीगत खर्च गरेको छ । यसरी अर्थमन्त्री खतिवडा जम्मा ३३.६६ प्रतिशत मात्रै बजेट खर्च गरेर जस्ट पास भएका हुन् । तर, उनले चालु खर्चको आकार भने ह्वात्तै घटाएका छन् । अर्थमन्त्री खतिवडाले ४१.०६ प्रतिशत मात्रै चालु खर्च गरेका छन् । उनको पुँजीगत खर्च पनि १९.८९ प्रतिशत मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.