बजेटदेखि बजेटसम्मः शेयर बजार ‘हाफ सेञ्चुरी’ कम

  २०७६ असार १ गते ८:४६     विकासन्युज


काठमाडौँ । सातै प्रदेश सरकारले आज नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेशहरुले केन्द्रले दिएको अनुदानलाई समेत जोडेर नयाँ आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन् । संघीय र प्रदेश सरकारको बजेट सार्वजनिक हुने दिनको बीचमा खुलेको शेयर बजार करिब ‘हाफ सेञ्चुरी’ले घटेको छ । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव पर्न नसक्दा बजारमा निराशा देखिएको हो ।

यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुला रह्यो । बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार भने निरन्तर ओरालो लागेको छ । गतसाता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ । केही कम्पनीको शेयर भने निरन्तर वृद्धि भइरहेको छ ।

गत बिहीबार अर्थात् यही जेठ २३ गते एक हजार २८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । अघिल्लो बिहिबारदेखि गतसाताको बिहिबारसम्म बजार १५.०४ बिन्दुले घटेको छ । आइतबार काठमाडौँ उपत्यकमा सार्वजनिक बिदा परेका कारण शेयर बजार बन्द रह्यो । सोमबार खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो ।

उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आएपनि बाँकी सूचक ओरालो लागेका थिए । कूल १७३ वटा कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए ।

यस्तै मंगलबार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामियो । सो दिन कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । बुधबार पुन कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुग्यो । कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्रै शेयर बढ्यो ।

बिहिबार पनि बजारले ओरालोको यात्रा तय गर्यो । उक्त दिन नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरी बजार बन्द भयो । कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । गतसाता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको छ लाख १८ हजार ६१० कित्ता साधारण शेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता शेयर लाभांश र यूनियन हाइड्रो पावरको कूल ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.