कान्ति लोकपथको चिल्लो सडकमा ३ महिनापछि गाडी सरर (फोटो फिचरसहित)

  २०७६ जेठ २४ गते १६:५२     विकासन्युज


काठमाडौँ । ६३ वर्ष भयो कान्ति राजपथको चर्चा हुन लागेको । ६० वर्ष अघि नै ट्रयाक खोलिएको पनि हो । तर यत्तिका वर्षसम्म सहजरुपमा गाडी चल्न सकेको थिएन ।  देशमा लोकतन्त्र आएपछि नाम परिवर्तन भएर कान्ति लोकपथ भन्न थालियो । लोकतन्त्र आएको पनि १३ वर्ष भयो । देशमा लोकतन्त्र आएसँग नाम फेरिएको कान्ति लोकपथको निर्माण अब भने अन्तिम चरणमा पुगेको छ । आगामी असोज महिनादेखि सो लोकपथको चिल्लो कालोपत्र सडकमा साना र ठूला सवारीका साधन(बस र मालबाहक ट्रक) सञ्चालन हुने भएको छ ।

२०७६ वैशाखदेखि सञ्चालनमा ल्याउने उद्देश्यले लोकपथका स्तरोन्नतिको काम भएपनि विस्फोटक पदार्थको अभावले गर्दा तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको कान्ति लोकपथ आयोजनाले जनाएको छ ।  हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टीकाभैरवसम्म यो सडकको लम्बाई ७९ किमि छ । त्यसैगरी टीकाभैरवदेखि ललितपुरको सातदोबाटोसम्मको दूरी ११ किलो मिटर छ ।

बुद्धचोकदेखि टीकाभैरवसम्म कान्ति लोकपथ आयोजना र टीकाभैरवदेखि सातदोबाटोसम्म काठमाडौँ सडक बिस्तार आयोजना र डिभिजन सडक कार्यालयले कालोपत्रे गर्ने काम गर्दैै आएका छन् । कान्ति लोकपथ आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी अमिन्द्र खड्काका अनुसार हेटौंडाबाट नारायणगढ–मुग्लिन–नागढुंगासम्मको दूरी २ सय १२ किमि छ । यता, हेटौँडा–टीकाभैरव–सातदोबाटोसम्मको जम्मा ९० किमि मात्रै छ । यसकारण कान्ति लोकपथ निर्माणपछि हेटौँडाबाट काठमाडौँ उपत्यका प्रवेश गर्न १३२ किलो बाटो छोटो पर्नेछ ।

हेटौँडा–नारायणगढ–मुग्लिन हुँदै काठमाडौँ प्रवेश गर्ने बाटोमा जस्तै कान्ति लोकपथमापनि पहिरोको जोखिम रहेको छ । कान्ति लोकपथको तीनपाने, नयाँगाउँ, छपेली, काल्भेवी, सिमात र मकवानपुर गढी लगायतका क्षेत्रमा भने पहिरोको जोखिम हुने देखिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना कान्ति लोकपथको कूल ९० किलोमिटर सडकमध्ये मकवानपुरतर्फ ५१ र ललितपुरतर्फ ३९ किलोमिटर पर्छ । वि.स.०१३ मा शुरु भएको आयोजनाको ट्रयाक ०१६ मा खोलिएको थियो ।

पहिलो संविधानसभा चुनावपछि लोकपथ स्तरोन्नतिको बहस चलेको थियो । ०६४ मा साढे पाँच मिटर चौडाइ बनाउने योजनासहित स्तरोन्नतिको काम अघि बढेको थियो । ०६७ मा चौडाइ सात मिटर पुर्याउने योजना बनेको पाइन्छ । आर्थिक वर्ष ०७१/७२ मा कान्ति लोकपथ बहुवर्षीय योजनामा परेपछि सडकको चौडाइ साढे आठ मिटर बनाउने गरी योजना अगाडि बढेको हो । सरकारले कान्ति लोकपथको स्तरोन्नति गर्न तीन अर्ब ३५ करोड विनियोजन गरेकोमा अहिलेसम्म दुई अर्ब १५ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नति हुँदै, सयौँ गाडी ओहोरदोहोर
उक्त सडकमा अहिले तीब्र गतिमा काम भइरहेको देखिन्छ । कान्ति लोकपथको बारेमा जानेका/सुनेकाहरु अहिलेपनि उक्त बाटो भएर काठमाडौँ ओहोर दोहोर गरिरहेका भेटिन्छन् । ठाउँ ठाउँमा काम भइरहेको छ, अहिले नै यात्रा गर्नु सास्तीपूर्ण रहेछ–काठमाडौँबाट हेटौँडा जाँदै गरेका एक यात्री उदय रिजालले भने । बाटो अप्ठ्यारो भएपनि उक्त बाटो भएर अहिलपनि सयौँ साना तथा हल्का सवारीका साधन चल्दै आएका छन् ।

शब्द/तश्वीरः खेम बोलखे/विकासन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.