सडक विस्तार अन्यौलपूर्ण, आवासको जग्गा हटाउने प्रयास

  २०७६ जेठ २३ गते १३:५५     विकासन्युज

काठमाडौं । विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको छ ।नगरपालिकाको चालू आर्थिक वर्षको योजनामा वडा नं १ को कारखानाबाट रामेश्वर खड्काको घरसम्म सडक स्तरोन्नति गर्ने कार्यक्रम राखिएको छ । पाँच लाख रुपैयाँ छुट्याइएको सो योजनामा सडकको मूलविन्दु कहाँ हो र कतिसम्म विस्तार गर्ने भन्ने सूचना दायाँबायाँका स्थानीयवासीलाई नदिई बास उठ्ने गरी विस्तार गरिएको हो ।

उक्त नगरपालिका क्षेत्रमा पर्ने बौद्ध पिपलबोटबाट सुन्दरीजलसम्मको मूल सडक यही नगरपालिकामा पर्छ । यसैगरी जोरपाटीबाट दक्षिणढोकाको सडक पनि गोकर्णेश्वर नगरपालिकामै पर्छ । वर्षौदेखि ठेक्का लागेर पनि विस्तार हुन नसक्दा यी सडक अलपत्र छन् । सोका कारण वषौँदेखि यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन् । यी सडक विस्तार गरेर कालोपत्र गर्न नगरपालिकाले कुनै पहल गरेको छैन ।

यसरी विस्तार गर्न लागिएको सडक कतै गर्ने र कतै नगर्ने गरिएको स्थानीयवासीको गुनासो छ । एक दशकअघि आफ्नो घरमा कोही नभएको मौका छोपी सडक सीमा सारेको समूहले सारिएको स्थानमा धारा हालेको थियो । धारा भत्काएपछि सडक विस्तारका नाममा आवासको हकबाट बञ्चित गर्न खोजिएको स्थानीय लालकृष्ण मिश्रले गुनासो गरेका छन् ।

सडकको मुख र अन्त्यमा विस्तार नगरी बीचबीचमा मात्र विस्तार गरिएको छ । केही व्यक्तिको जग्गा सिधा पार्न नगरपालिकाले काम गर्न गठन गरेको उपभोक्ता समिति प्रयोग भएको छ । नगरपालिकाका योजना शाखा प्रमुख मीनराज कोइरालाले सडक दायाँबायाँका जग्गाधनीको सहमतिविना एउटा इँटा पनि सार्न नसकिने बताए ।यसैक्रममा,नगरपालिकाका उपप्रमुख शान्ति नेपालले सडक विस्तार गर्ने योजना भए पनि कुनै पनि व्यक्तिको घरलाई असर पुग्ने गरी विस्तार नगरिने जानकारी समेत दिएका छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.