२७ अर्ब ८८ करोडको ऋणपत्र बिक्री, सात अर्बको आउँदै

  २०७६ वैशाख १७ गते १८:५०     मञ्जरी पौडेल

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि बैंकहरुले ऋणपत्र मार्फत ठूलो रकम परिचालन गरेका छन् । हालसम्म विभिन्न वाणिज्य बैंकहरुले कूल २७ अर्ब ८८ करोड रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गरिसकेका छन् । २८ वटा वाणिज्य बैंकमध्ये कुल १५ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष (आव) र चालू आवको तेस्रो त्रैमासिक अवधिसम्म सो मात्राको ऋणपत्र जारी गरेका हुन् ।

सो मध्ये गत आवमा १४ वटा बैंकले कूल १२ अर्ब ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेका थिए । त्यस्तै, चालू आवको चैत मसान्तसम्म अर्थात ९ महिनासम्म १५ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन भई बिक्री भईसकेका छन् । ९ महिनामा मात्रै कूल ६ वटा बैंकले गत आवको भन्दा बढी ऋणपत्र निष्काशन गरेका छन् । कूल निष्काशित ऋणपत्र मध्ये एनआईसी एशिया बैंकले सबैभन्दा बढी निष्काशन गरेको छ । बैंकले गत आव र चालू आवको हालसम्म गरी कूल ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको छ ।

 

कसको व्याजदर कति ?

एनआईसी एशिया बैंकः एनआईसी एशिया बैंकले चालू आवमा मात्रै दुई पटक ऋणपत्र जारी गरिसकेको छ । गत साउनदेखि हालसम्म कम्पनीले कूल ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिसकेको छ । बैंकले पहिलो पटक भदौ २१ गतेदेखि कुल एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सो मध्ये सर्वसाधारणलाई ३६ करोड ६० लाख र प्राइभेट प्लेसमेन्टलाई एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । ७ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक व्याजदर ११ प्रतिशत तोकिएको थियो । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको थियो ।

त्यस्तै, दोश्रो पटक एनआईसी एशिया बैंकले गत माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरको ४० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंकले चार अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत एनआईसी एशिया बैंक ऋणपत्र २०८५/८६’ ऋणपत्र जारी गरिसकेको छ ।

सो मध्ये १६ लाख कित्ता पब्लिकलाई र बाँकी २४ लाख कित्ता प्राईभेट प्लेसमेन्टलाई बिक्री गरेको थियो । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशत ब्याज दिने व्यवस्था गरेको थियो । माघ १३ गतेदेखि ढिलोमा फागुन १३ गतेसम्म बिक्री खुला रहेको यस ऋणपत्रमा जम्मा दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको बिक्री भएको थियो ।

सानिमा बैंकः सानिमा बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत सानिमा डेबेन्चर २०८५’ ऋणपत्र बिक्री गरिसकेको छ । सो मध्ये सर्वसाधारणलाई ४० करोड र प्राइभेट प्लेसमेन्टलाई एक अर्ब ६० करोड रुपैयाँ गरी सो मात्राको ऋणपत्र बिक्री गरेको थियो । १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याजदर भुक्तानी गरिने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकः सिद्धार्थ बैंकले मंसिर २३ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ‘१०.५ प्रतिशत एसबीएल डिबेन्चर २०८२’ ऋणपत्र जारी गरेको थियो । बैंकले साढे १० प्रतिशत व्याजदरमा पुस २३ गतेसम्म सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो । सो मध्ये सर्वसाधारणलाई ४ लाख ५० हजार कित्ता र प्राइभेट प्लेसमेन्टलाई १८ लाख कित्ता छुट्याइएको थियो ।

ग्लोबल आईएमई बैंकः ग्लोबल आईएमई बैंकले फागुन १५ गतेदेखि ‘१० प्रतिशत ग्लोबल आईएमई बैंक ऋणपत्र २०८०/८१’ निष्काशन गरेको थियो । बैंकले अंकित मूल्य १००० रुपैयाँको दरले एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो ।

सो मध्ये सर्वसाधारणहरुमा ६ लाख र बाँकी रहेको ९ लाख इकाई प्राइभेट प्लेसमेन्टबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो । पाँच वर्षे अवधि रहेको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले चैत १४ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत सो मात्राको डिबेन्चर बिक्री गरेको थियो ।

एनएमबि बैंकः एनएमबि बैंकले एक हजार रुपैयाँ अंकित दरमा कुल तीन अर्ब रुपैयाँ बराबरको ‘एनएमबि ऋणपत्र २०८५’ ऋणपत्र जारी गरेको थियो । बैंकले वार्षिक १० प्रतिशत व्याजमा सो मात्रा अर्थात ३० लाख कित्ता सेयर ऋणपत्र बिक्री गरेको हो ।

सो मध्ये ४० प्रतिशत अर्थात १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो भने बाँकी ६० प्रतिशत अर्थात १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्ने कम्पनीले जनाएको थियो । फागुन ३० गतेदेखि जारी गरिएको उक्त ऋणपत्र बिक्रीमा ढिलाई भएको थियो । कम्पनीले मागेजति आवेदन नपरेकाले उक्त ऋणपत्रको बिक्री ढिलो अर्थात चैत २५ गतेसम्म खुला थियो ।

सनराइज बैंकः सनराइज बैंकले गत चैत २० गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ‘१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा १० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । सो मध्ये बैंकले ४० प्रतिशत अर्थात ४ लाख इकाई सर्वसाधारणका लागि र बाँकी ६० प्रतिशत अर्थात ६० लाख इकाई प्राइभेट प्लेसमेन्टबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो ।

 

५ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने व्यवस्था थियो । छिटोमा चैत २५ गते बन्द हुनुपर्ने उक्त ऋणपत्रमा माग अनुसार आवेदन नपरेकाले बैंकले समय थप गरेको थियो ।  वार्षिक १० प्रतिशत ब्याजदर पाइने ५ वर्षे अवधिको उक्त ऋणपत्र छिटोमा चैत २५ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारका आवेदन नपरेपछि कम्पनीले वैशाख २९ गतेसम्म ऋणपत्र बिक्री गरेको थियो ।

चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नैतिक दवावको रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न दीर्घकालीन ऋणपत्र जारी गर्ने व्यवस्था लागू गरेको हो ।

उक्त व्यवस्था लागू गर्नु अघि नै अर्थात गत आव र चालु आवको पुस मसान्तसम्ममा झण्डै १३ वटा बैंकले ऋणपत्र जारी गरिसकेका थिए । तर व्यवस्था लागू भएपश्चात जम्मा दुई वटा बैंक(एनएमबि र सनराइज)ले जारी गरेका छन् । त्यस्तै, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट र नेपाल बङ्गलादेश गरी तीन वटा बैंक ऋणपत्र जारी गर्ने प्रकृयामा रहेका छन् । यसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा एक अर्ब २५ करोडको निष्काशन गरिसकेको थियो भने बैंकले पूनः दुई अर्ब रुपैयाँ बराबरको जारी गर्न प्रकृया अघि बढाएको छ ।


कूल २८ वाणिज्य बैंक मध्ये ११ वटा वाणिज्य बैंकहरुले भने हालसम्म ऋणपत्र जारी गर्ने सुरसार नै गरेका छैनन् । नेपाल, राष्ट्रिय वाणिज्य, स्ट्याण्र्डड चार्टर्ड, एनसीसी, कुमारी, प्राइम, प्रभु, जनता, मेगा, सिभिल र सेञ्चुरी बैंकले हालसम्म ऋणपत्र जारी गर्ने प्रकृया शुरु गरेका छैनन् । जसले केन्द्रीय बैंकको नीतिलाई वेवास्था पो गरेका हुन् की ?

साथै, बजारमा ऋणपत्रको उपयुक्त स्तर(लेभल) कति हो र त्यसको बजारमा सकारात्मक र नकारात्मक दुबै पक्षको विश्लेषण गरेर नैतिक दवावको रुपमा नभई बाध्यकारी रुपमा लागू गर्ने आवश्यकता देखिन्छ । यसका साथै, हालसम्म निष्काशित सबै ऋणपत्रहरु पनि समयमा बिक्री नभएको अवस्था देखिन्छ । जसले सर्वसाधारणमा ऋणपत्र र यसको फाइदा बुझाउन नसकेकाले यस्तो अवस्था सिर्जना भएको हो की भन्ने बुझिन्छ ।

के हो त ऋणपत्र ?

ऋणपत्र एक प्रकारको ऋण साधन हो जुन सरकार र कम्पनीहरुले ऋण जारी गर्नको लागि प्रयोग गरीन्छ । कम्पनीहरुले आफ्नो प्रतिष्ठाको आधारमा पुँजी उठाउनको लागि सर्वसाधारण र प्राइभेट प्लेसमेन्टमा एक निश्चित व्याजदरमा जारी गरेका हुन्छन् । ऋणपत्र जारी गर्दा कम्पनीहरुले ५ प्रतिशतभन्दा बढी ब्याज तोकेका हुन्छन् । जसको समयावधि ५ वर्षभन्दा बढी रहेको हुन्छ भने प्रत्येक वर्ष तोकिएको रकम भुक्तानी गर्दछ । ऋणपत्रहरु पनि विभिन्न किसिमका हुन्छन् । जस्तै, सुरक्षित र असुरक्षित, परिवर्तनीय र गैरपरिवर्तनीय, पहिलो र दोस्रो लगायतका आदि ।

किन जारी गरिन्छ ऋणपत्र ?

लगानीका लागि दीर्घकालीन स्रोत संकलनका दृष्टिले ऋणपत्र जारी गर्ने गरिन्छ । साथै, कम्पनीहरुले बिना विस्तार र विकास उद्देश्यका साथ सेयर पुँजी बढाउन चाहे उक्त प्रमाणपत्र जारी गरिन्छ । जुन निश्चित समयका लागि रुचाइएको दरमा साधारण जनताबाट ऋण लिन सकिन्छ ।

कम्पनीलाई के फाइदा हुन्छ ?

सीसीडी रेसियो गणना हुँदैन । कम्पनीले ऋणपत्रमा आफ्नो नाफा समावेश गरेको हुन्न । ब्याज भुक्तान गर्ने मिति र दर निश्चित हुन्छ । त्यस्तै, हाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार संस्थागत निक्षेप जहिले पनि ४५ प्रतिशत र व्यक्तिगत निक्षेप ५५ प्रतिशत हुनु पर्छ । यदि कुनै व्यक्ति व्यक्तिको खाताले बल्ल ५५ प्रतिशत दियो भने मात्र संस्थाहरुबाट ४५ प्रतिशत उठाउन सकिन्छ । तर ऋणपत्र जारी गर्यो भने संस्थाहरुले ऋणपत्र किन्छन् जसले ४५ र ५५ प्रतिशतको अन्तर हटाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.