मालपोत कार्यालयका सुब्बा बिरुद्ध घुस लिएको आरोपमा मुद्दा

  २०७६ वैशाख १२ गते १९:४१     विकासन्युज


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा वासुदेव मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोही जग्गाको बाँडफाँट गरी लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले मण्डललाई रु ४० हजार घुससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी मण्डललाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ । यस्तै आयोगले आजै सव डिभिजन वन कार्यालय, लाटीझोडा, मोरङका सहायक वन अधिकृत सल्लाउद्दिन अन्सारीविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुख कटान सहमतिको सिफारिश गरिदिएबापत सेवाग्राहीसँग सहायक वन अधिकृत अन्सारीले रु ३५ हजार घुस लिएको आरोप लागेको छ । आयोगले बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । यस्तै आयोगले मालपोत कार्यालय भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीलाई घुस लिएको आरोपमा आज पक्राउ गरेको छ ।

एक सेवाग्राहीले निवेदनमार्फत सुकुम्बासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकामा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने प्रयोजनका लागि चौधरीले रु २० हजार घुस मागेको आरोप लागेको छ । आरोपी चौधरीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सीताराम खनाल, मेकानिकल इञ्जिनीयर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मोटरसाइकल र स्कुटरको सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा तीन हजार २११ सम्मिलित भएको र प्रयोगात्मक परीक्षामा तीन हजार २६५ जना सहभागी भएकामा प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीबाट रु पाँच हजारदेखि रु १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका आठ परीक्षार्थीलाई उत्तीर्ण गराई सवारी चालक अनुमतिपत्र दिइ गैरकानूनी लाभ पु¥याउने नियत राखेको पुष्टि भएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोग प्रवक्ता कोइरालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.