रसुवागढी, साञ्जेन र गणपतिको आईपीओ भर्ने समय सकियो, कतिले भरे सेयर ?

  २०७६ वैशाख १२ गते १९:३५     विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न तीन कम्पनीको साधारण सेयर(आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । एकैदिन रसुवागढी जलविद्युत कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर भर्ने समय सकिएको हो ।

सो मध्ये रसुवागढी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा एक अर्ब ७१ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म तीन लाख दुई हजार ६२९ जनाले कुल एक करोड ७१ लाख ४३ हजार २६० कित्ता सेयरको लागि माग गरेका हुन् ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो ।

त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा एक अर्ब ४१ करोड ३२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर माग गरेका छन् । उक्त आईपीओमा कुल ३ लाख ४ हजार ६९ जनाले एक करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग गरेका बिक्री प्रबन्धक लगानीकोषले जनाएको छ ।

साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश भएका यी दुबै जलविद्युत् आयोजनाहरुले गत वैशाख ६ गतेदेखि साधारण सेयर बिक्री गरेका थिए । मागभन्दा बढी आवेदन परेपछि छिटोमा मंगलबार बन्द हुनुपर्ने यी दुबै कम्पनीको सेयर भर्ने समय थप दुई दिन थपिएको थियो । मेरो सेयरबाट आवेदन दिँदा सीडीएससीको सफ्टवेयरमा समस्या आएका कारण नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीको सेयरमा आवेदन दिने म्याद थप गर्न निर्देशन दिएको थियो । सोही अनुसार यी दुई कम्पनीको बिहीबारसम्म सेयर बिक्री खुला भएको हो ।

त्यस्तै, गणपति माइक्रोफाइनान्सको आईपीओमा कूल ६७ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताको सेयर माग गरेका हुन् ।

संस्थाले बैशाख ९ गतेदेखि अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । कम्पनीले कूल ३ लाख ३५ हजार साधारण सेयर निष्काशन गरेको थियो । त्यसमा कर्मचारीलाई ५ हजार १७५ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याइ बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.