भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

  २०७५ चैत १४ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि भृकुटी मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला शुरु भएको छ । मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका हुन् । सा अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय साधन र स्रोतको परिचालनबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले केही समय पहिले निजी क्षेत्र र सरकारबीच जुहारी चलेको जस्तो देखिएपनि अहिले एकै ठाउँमा रहेको बताए । उनले अब आर्थिक क्रान्ति गर्ने बेला आएको बताए ।

मेला उद्घाटनका अवसरमा महासंघका अध्यक्ष भवानी राणाले लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका प्रतिनिधिले समेत मेला अवलोकन गर्ने र मेलामा प्रदर्शित सामानहरुको अन्तर्राष्ट्रियकरण गर्न सजिलो हुने बताइन् ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली लगानीकर्तालाई विदेशी लगानीकर्ता बराबर सेवा सुविधा सरकारले दिनु पर्ने बताए । विदेशी लगानीकर्तासँग नेपली लगानीकर्ता प्रतिस्पर्धा गर्न सक्षम रहेको पनि गोल्छाले बताए ।

मेलामा २५० स्टलमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । नेपालसहित सार्क मुलुक भारत, चीन र म्यानमार लगायत देशहरूको सहभागिता रहेको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा लगायतका छुट्टाछुट्टै स्टल रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टका रूपमा मेला आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.