१५ बुँदे सुझाव बुझाएर नेपाल बैंकबाट बाहिरिए देवेन्द्रप्रताप शाह, ४ वर्षे कार्यकालमा के के गरे ?

  २०७५ चैत १२ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह बाहिरिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल सोमबार पूरा भएसँगै शाहले बैंकबाट नियमित अवकाश पाएका हुन् । उनको अवकाशसँगै नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ ।

शाहले नेपाल बैंकमा प्रमुख कार्यकारीको हैसियतमा रहँदा वित्तीय रुपमा बिरामी रहेको बैंकलाई उद्धार गर्न सफल भएको दाबी गरेका छन् । उनले बैंकलाई प्रविधि, जनशक्ति र वित्तीय सूचकका हिसाबले देशकै प्रतिस्पर्धी बैंक बनाउन सफल भएको दाबी गरेका हुन् ।

‘म आउँदा नेपाल बैंकको प्रविधि म्यानुअल ढंगले चलेको थियो, मैले अत्याधुनिक कम्युटराइज सिस्टम बैंकमा भित्र्याएँ, त्यसैअनुसार कर्मचारीहरुलाई पनि नयाँ प्रविधिसँग काम गर्न सक्षम बनाएँ । त्यससँगै भिसा कार्ड पनि लन्च गर्न सफल भयौं’ – शाहले विकासन्यूजसँग भने ।

उनले वित्तीय सूचकहरुमा समेत ठूलो उपलब्धि हासिल गर्न सफल भएको बताए । ‘म आउँदा बैंक वित्तीय रुपमा बिरामी थियो, ननफण्ड बिजिनेस थोरै थियो, त्यसमा सुधार भएको छ । ४ प्रतिशतमा सीमित रहेको पुँजी पर्याप्तता अनुपात बढाएर लगानीका लागि ठूलो फण्डको सिर्जना गरेको तथा नकारात्मक रहेको रिजर्भको आकारलाई सकारात्मक बनाउन पहल गरेको दाबी गरेका छन् ।

नेपाल बैंकबाट बाहिरिनुअघि आफूले गर्न बाँकी रहेका कामहरुको १५ बुँदे सूचि तयार गरेर सञ्चालक समितिलाई बुझाएको भन्दै आफ्ना उत्तराधिकारीहरुले त्यसलाई निरन्तरता दिने विश्वास समेत उनले व्यक्त गरे ।

२०७१ साल चैत १३ गते नेपाल बैंकमा शाह प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै चैत मसान्तमा प्रकाशित वित्तीय विवरणमा बैंकको रिजर्भ २ अर्ब ७५ करोड रुपैंया घाटामा देखिएको थियो । गत पुस मसान्तमा १ अर्ब ९६ करोड सकारात्मक देखिएको छ । त्यो बेला बैंकको निष्क्रिय कर्जा अनुपात नै १०.५ प्रतिशत पुगेको थियो । अहिले यो दर २.७४ प्रतिशतमा सीमित भएको छ जुन अन्य सरकारी लगानीका बैंकहरुको भन्दा राम्रो हो ।

यो अवधिमा आइपुग्दा बैंकले निक्षेप र कर्जाको आकार, कस्ट अफ फण्ड, आधार दर र नाफाका हिसाबले समेत उत्कृष्ठ बैंकहरुसँग प्रतिस्पर्धी हैसियत बनाउन सफल भएका छ । यद्यपि एफपीओ जारी गर्ने बेलामा प्रतिबद्धता गरिएको लाभांश वितरण गर्न भने शाह असफल भएका छन् । ३२ प्रतिशतसम्म बोनस शेयर दिनसक्ने घोषणा गरे पनि राष्ट्र बैंकले रिजर्भमा रहेको ठूलो रकम कर्मचारीको दायित्वमा समायोजन गरिदिएपछि शाहको कार्यकालमा नेपाल बैंकका शेयरधनीले लाभांश पाउने अवसरबाट वञ्चित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.