‘लगानी सम्मेलन अर्धदातृ सम्मेलन भयो, रासायनिक मल ठीक छ, फोहोरमा लगानी किन चाहियो ?’

  २०७५ चैत १० गते १८:३८     विकासन्युज

काठमाडौं । सरकारले गर्न लागेको लगानी सम्मेलन अर्धदातृ सम्मेलनजस्तो भएको पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले आरोप लगाएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पहिलो लगानी सम्मेलनका क्रममा उद्योगमन्त्री एवं सम्मेलनका अध्यक्ष समेत रहेका काँग्रेस नेता जोशीले सरकारले छनौट गरेका आयोजना र लगानी ल्याउने प्रक्रियासम्बन्धी तयारी हेर्दा त्यसलाई लगानी सम्मेलन भन्न नसकिने भन्दै यसले दातृ सम्मेलनको जस्तो भएको टिप्पणी गरेका हुन् ।

‘सरकारले धेरैजसो आयोजना हाइड्रोपावर छानेको छ, नेपालको विद्युत्को लागत भारतको लागत भन्दा बढी छ, त्यस्तो अवस्थामा त्यो विद्युत्को बजार कहाँ हो थाहा छैन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा लगानी प्रस्ताव गर्न भनिएको छ तर त्यसको मोडालिटी के हुने भन्ने नै थाहा छैन । यस्तो अवस्थामा विदेशी लगानीकर्ताहरु नेपालप्रति विश्वस्त कसरी हुन सक्छन् ?’– जोशीले भने ।

जोशीले सरकारले गर्न लागेको सम्मेलनलाई ‘राम्रो तर अपुरो’ को संज्ञा दिँदै छनौट गरिएका आयोजनाहरुको सन्दर्भमा लागत लाभ विश्लेषण, सरकारी भूमिकाबारेको विश्लेषण र स्वदेशी लगानीको सम्भावनाका बारेमा गहन रुपमा विश्लेषण गर्न सुझाव दिएका छन् ।

पत्रकार सम्मेलनका क्रममा जोशीले सरकारले केही विवादित आयोजनाहरुलाई समेत लगानीको क्षेत्रमा समावेश गरेको भन्दै रासायनिक मल उत्पादन लगायतका केही आयोजनामा विदेशी लगानी भित्र्याउनु भने सही भएको बताएका छन् । ‘रासायनिक मल उद्योग खोल्नु ठीक छ तर स्थानीय सरकारले गर्ने फोहोर व्यवस्थापनमा विदेशी लगानी किन चाहियो ?’ जोशीले प्रतिप्रश्न गर्दै भने – ‘हामीले ल्याएका १४ खर्बको प्रतिवद्धतामा फलोअप नहुँदा केही हुन सकेन, त्यसको कारण भनेकै फलोअप र प्रक्रियागत सुधारमा भएको कमजोरी हो, यसमा सुधार नल्याएसम्म लगानी प्रतिवद्धता फेरि आए पनि लगानी भित्रने छैन ।’

कार्यक्रममा वर्तमान सरकारप्रति स्वदेशी लगानीकर्ताकै भरोसा नभएको भन्दै विदेशी लगानीकर्तामा भरोसा हुन स्वदेशी लगानीकर्ता समेत विश्वस्त हुने वातावरण बन्नुपर्नेमा जोड लिइएको थियो । ‘अर्थतन्त्रको ब्यारोमिटरको रुपमा लिइने शेयर बजार घट्दो छ, बजारले ५ खर्ब मूल्य गुमाइसक्यो, शोधनान्तर घाटाका कारण लगानीकर्ताहरु विदेशमा लगानी फिर्ता लैजान समस्या हुने आशंका गरिरहेका छन्, यस्तो अवस्थामा लगानी भित्रिन सक्दैन, यसका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्छ, यो नै महत्ववूर्ण विषय हो ।’ पत्रकार सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले भने । उनले सरकार आफैं द्वन्द्वमा भएको भन्दै सरकारले आफ्नो लक्ष्यको प्राथामिकीकरण समेत गर्न नसकेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.