डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला

  २०७५ चैत ३ गते ११:१०     विकासन्युज

काठमाडौं। विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोलेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेकामा आज प्रहरीको रोहवरमा ताला खोलेका हुन् ।

कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित भएको उनीहरुले बताएका छन् । शैक्षिक एवम् अस्पतालको सेवा सञ्चालनमा कुनै पनि अवरोध नरहेको विद्यार्थी अनित सिन्हाले बताए।

एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए ।

विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ ।

पक्राउ पुर्जीविरुद्ध कलेजका अध्यक्ष अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.