महासंघ पदाधिकारी र अमेरिकी राजदूतबीच भेटवार्ता, अमेरिकी लगानी बढाउन आग्रह

  २०७५ फागुन २३ गते १८:३४     विकासन्युज


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष(नेपाल) चण्डिराज ढकालको समेत सहभागिता रहेको उक्त भेटवार्तामा नेपाल अमेरिका आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, आयात निर्यात, संयुक्त लगानी, नेपालमा लगानीको वातावरण, नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन तथा आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्यद्वय जयप्रसाद सिवाकोटी र आकाश अधिकारी, अमेरिकी राजदूतावासका अधिकृतहरू र महासंघ सचिवालयका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । सो अवसरमा महासंघको तर्फबाट अध्यक्ष राणाले राजदूत बेरीको महासंघ सचिवालयमा स्वागत गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएकाले यतिखेर वाह्य लगानी, प्रविधि तथा विकासको मोडल समेत खोजिरहेको नेपालका लागि अमेरिकी लगानी आकर्षण गर्ने कार्यमा कुटनीतिक तवरबाट सहयोग गर्न राजदूत समक्ष अनुरोध गरिन् ।

मुलुकको आर्थिक विकासमा नेपाल सरकार अत्यन्त क्रियाशिल रहेको यसका लागि कतिपय ऐन कानूनहरू (श्रम तथा सामाजिक सुरक्षा, फिट्टा, सेज आदि) समेत आईसकेको र बा“की ऐन कानून पनि छिट्टै ल्याउने तरखरमा रहेको, श्रम सम्बन्ध सुमधुर बन्दै गएको, लोडसेडिङको समस्या नरहेकाले लगानीको वातावरण बनिरहेको अध्यक्ष राणाले सो अवसरमा स्पष्ट पारिन् ।

महासंघका विशिष्ट सदस्य ढकालले नेपाल अमेरिका बीच आपसी सम्बन्ध अत्यन्त प्रगाढ रहेको र महासंघका तर्फबाट समेत आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विगतमा निर्वाह भएको भूमिकाको चर्चा गरे । सो अवसरमा राजदुत र्याण्डी बेरीले नेपालको आर्थिक विकासमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.