लघुवित्तका ऋणीलाई शेयरधनी बनाउने योजना, साधारण शेयरको ५० प्रतिशत छुट्याउन सक्ने व्यवस्था

  २०७५ फागुन २१ गते १२:५८     विकासन्युज

काठमाडौं । लघुवित्त कम्पनीहरुका ऋणी सदस्यहरुलाई शेयरधनी बनाउन नीतिगत प्रयास सुरु भएको छ । नेपाल बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्दै त्यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको हो । प्रस्तावित व्यवस्था अनुसार लघुवित्त कम्पनीहरुले आफ्नो साधारण शेयरमध्ये ५० प्रतिशतसम्म शेयर ऋणी सदस्यहरुका लागि आरक्षित गर्नसक्ने व्यवस्था गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले बाफियाको दफा ९ को उपदफा ८ मा यो व्यवस्था थप गर्दै सदस्यहरुका लागि शेयर जारी गर्नसक्ने व्यवस्था गर्न लागेको हो । उक्तऐनको दफा ९ मा हालसम्म ७ ओटा मात्रै उपदफा छ । अहिले नभएको व्यवस्था दफा ८ मा थपगर्दै उक्त व्यवस्था गर्न लागेको हो । ‘घ वर्गको वित्तीय संस्थाले उपदफा १ बमोजिम सर्वसाधारणलाई बिक्री बितरण गर्नको लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानी उक्त शेयर मध्येबाट बढीमा ५० प्रतिशतसम्म शेयर आफ्ना ऋणी सदस्यलाई छुट्याउन सक्नेछ ।’ थप गरिएको उपदफा ८ मा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले ऋणी सदस्यको हितको लागि उक्त व्यवस्था गर्नुपरेको कारण समेत उल्लेख गरेको छ । यद्यपि उक्त व्यवस्थाले लघुवित्त कम्पनीहरुलाई शेयर जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था भने गरेको छैन । हाल कर्मचारी र म्युचुअल फण्डहरुलाई मात्र शेयर आरक्षणको व्यवस्था छ । यो व्यवस्था लागु भए लघुवित्त कम्पनीहरुको सर्वसाधारणलाई जाने शेयरको मात्रा थप खुम्चनेछ ।

यो व्यवस्थाले हाल आईपीओ जारी भइसकेका र ऐन लागु हुनुअघि आईपीओ जारी हुने लघुवित्तलाई भने यसले कुनै असर गर्ने छैन । नेपाल राष्ट्र बैंकले हालसम्म ७२ ओटा लघुवित्त कम्पनीलाई सञ्चालन अनुमति दिएको छ भने थप १८ ओटा लघुवित्तलाई सञ्चालनको स्वीकृति दिने अन्तिम तयारी गरेको छ । त्यसमध्ये ४० ओटा कम्पनीहरुले साधारण शेयर जारी गरी दोस्रो बजारमा सूचिकृत हुँदा आशा लघुवित्तले शेयर जारी गरी सूचीकरणको अन्तिम तयारीमा छ । त्यस्तै, स्पर्श लघुवित्तले आईपीओ जारी गर्न आह्वानपत्र प्रकाशन गरिसकेको छ ।
बाँकी ५ कम्पनीहरु साधारणसभाबाट आईपीओ प्रस्ताव पारित गरी धितोपत्र बोर्डको पाइपलाइनमा छन् । सञ्चालनमा रहेका बाँकी २५ कम्पनीले भने आईपीओ जारी गर्ने प्रक्रिया समेत सुरु गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.