१२३ जहाज भएकाे जेट एयरवेज संकटमा : १७ अर्ब तिर्न नसक्दा २७ ओटा जहाज ग्राउन्डेड

  २०७५ फागुन २१ गते ९:४६     विकासन्युज

काठमाडौं । चर्चित भारतीय एयरलाइन्स कम्पनी जेट एयरलाइन्स समस्यामा परेको छ । नेपालमा नेपाल वायुसेवा निगमका जहाजहरु ग्राउन्डेड भएर संकट निम्तिएको बेला चर्चित भारतीय कम्पनीमा समेत व्यवस्थापकीय समस्याकै कारण संकट देखिएको हो ।

एशियाकै उत्कृष्ठ एयरलाइन्स कम्पनी मानिने इस्तिहाद एयरलाइन्सको समेत शेयर लगानी भएको उक्त एयरलाइन्सले पछिल्लो समयमा तिर्नुपर्ने विभिन्न भुक्तानीहरु सल्ट्याउन नसकदा समस्यामा पर्दै गएको हो । एयरलाइन्स समस्यामा परेसँगै कम्पनीका इक्विटी साझेदारहरुमा समेत असामजस्यता देखिएको छ ।

१२३ ओटा जहाज भएको र दुई दर्जनभन्दा बढी देशमा दैनिक ७५० भन्दा बढी उडान भर्ने जेट एयरवेजले भाडामा लिएका जहाजहरुको भुक्तानी नगरेपछि फेब्रुअरी महिनामा मात्र ५ ओटा बोइङ जहाजहरुलाई ग्राउन्डेड गरिएको छ । जेटका २० जहाजहरु यसअघि नै विभिन्न कारणले ग्राउन्डेड थिए । सोही कारणले सोमबार मात्रै थप २ जहाजहरु ग्राउन्डेड गरिएसँगै जेटका २७ जहाजले नियमित उडान भर्न पाएका छैनन् । यसकारण एयरलाइन्सको दैनिक २०० भन्दा बढी आन्तरिक उडानहरु रद्द भएका छन् ।

मुम्बईस्थित नागरिक उड्डयनका एक अधिकारीले पछिल्लो महिना जेट एयरलाइन्सको उडान आधाभन्दा बढीले घटेको छ । जनवरीसम्म मुम्बईबाट दैनिक २०० उडान भर्ने जेटले अहिले दैनिक १०० भन्दा कममात्र उडान भर्छ ।

भाडामा लिएको जहाजको तिर्नुपर्ने रकम नतिरेसँगै फेब्रुअरी ७ मा ४ ओटा जहाज ग्राउन्डेड गरिएकोमा फेब्रुअरी २३ मा थप २ ओटा जहाज सोही कारणले उडान स्थगित गरिएको थियो । फेब्रुअरी २७ र २८ मा क्रमशः ७ र ६ जहाजहरुको उडान स्थगित गरियो । मार्च १ मा २ ओटा र २ मा त्योभन्दा बढी जहाजहरु ग्राउन्डेड गरिएको नागरिक उड्डयन सम्बद्ध स्रोतले जानकारी दियो ।

जेटमा युएईस्थित इस्तिहाद एयरलाइन्सको २४ प्रतिशत शेयर छ । उसले समेत उक्त भुक्तानी दिन चाहँदैन । स्रोत भन्छ, इस्तिहादले बैंक–लिड रिज्योलुसन प्लान (बीएलआरपी) पछि मात्र रकम तिर्ने अडान लिएको छ । यसका लागि लामो समय लाग्नसक्ने अनुमान गरिएको छ ।

बीएलआरपीले जेट एयरवेजमा ८५ अर्ब भारतीय रुपैंयाको कोष अभावको महशुस गरेको छ, जसमा १७ अर्ब रुपैंया एयरलाइन्सको लिजिङबापत तिर्नुपर्ने अनुमान गरिएको छ । ८५ अर्बको उक्त कोष इक्विटि वा ऋणबाट जुटाउन सकिन्छ, यदि इक्विटी जारी गर्ने हो भने हालको अध्यक्षको ५१ प्रतिशत हिस्सा रहेको जेटको शेयर २०/२२ प्रतिशतमा झर्नेछ । यस्तो अवस्थामा अध्यक्ष नरेश गोयलको कदम के हुन्छ भन्ने विषय महत्वपूर्ण मानिएको छ ।

जेटको यो संकटले यसको प्यासेन्जर हिस्सालाई अर्को प्रतिस्पर्धी एयरलाइन्सभन्दा तल झारिलिएको छ । जेट एयरलाइन्सको प्यासेन्जर हिस्सा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत घटेर ११.९ प्रतिशतमा आइपुगेको छ जबकि अर्को भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाको हिस्सा १२.२ प्रतिशत छ ।

(फाइनान्सियल एक्सप्रेसको रिपोर्टमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.