ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन, कालोबजारी गरेको पाइए कारवाही

  २०७५ फागुन २० गते १८:४१     विकासन्युज

काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ ।

उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो । पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पारिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

नेपाल आयल निगमका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले ग्यास डिपोमा पुगेर ग्यासको मौज्दातको अवस्थाका बारेमा अनुगमन गरेको उनले जानकारी दिए । अनुगमनका क्रममा ग्यास लुकाएको वा कालोबजारी गरेको पाइए उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गरिने उनले बताए ।

अनुगमनलाई देशव्यापी बनाउने योजना बनाइएपनि कर्मचारी अभावका कारण प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न नसकिएको बताइएको छ ।

उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै ग्यासको पिडिओ खरीद गर्न बन्द गरेसँगै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेका छन् । बजारमा पर्याप्त ग्यास हुँदाहुँदै बिक्रेताले उद्योगबाट नआएको भन्दै बिक्री बन्द गरेका छन् । नेपाल आयल निगमले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको दाबी गर्दै अभाव नरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.