मार्जिन कारोबार : नेप्से तयार, ब्रोकर तयारीमा, कहिले हुन्छ शुरु ?

  २०७५ फागुन १९ गते १७:२५     मञ्जरी पाैडेल

काठमाडौं । नीतिगत र कानूनी अड्चन हटेको लामो समय भइसक्दा पनि शेयर बजारमा मार्जिन कारोबार कहिलेदेखि शुरु हुन्छ भन्ने अन्यौलता कायमै छ । पछिल्लोपटक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबारको लागि स्वीकृति लिन आउन आग्रह गरे पनि अहिलेसम्म कुनै पनि ब्रोकरले नेप्सेमा मार्जिन कारोबार सञ्चालनको लागि निवेदन दिएका छैनन् ।

नेप्सेले हालसम्म हुनै पनि  ब्राेकर काराेबार स्वीकृतिकाे लागि नआएकाे जानकारी दिएकाे छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हालसम्म कुनै पनि ब्रोकरको निवेदन प्राप्त नभएको बताउँदै ब्रोकरहरु प्रक्रिया पुर्याएर आए तुरुन्त स्वीकृति दिनसक्ने गरी आफुहरु तयारी हालतमा रहेको बताए ।

ब्रोकरहरुले भने मार्जिन कारोबारका लागि स्वीकृति लिने सम्बन्धमा आवश्यक तयारीमा रहेको बताइएको छ । नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले नेप्सेले गरेको आह्वानअनुसार मार्जिन कारोबारका लागि आवेदन गर्नको लागि ब्रोकरहरु आन्तरिक तयारीमा रहेको जानकारी दिए ।

‘मार्जिन ट्रेडिङका लागि नेप्सेले आह्वान गरेको छ । हामी एप्लाई गर्ने प्रक्रियामा छौं । मार्जिन कारोबारका लागि तोकिएका क्लजहरु पुगेका ब्रोकरहरुले आन्तरिक तयारी पूरा गरेर केही दिनमै नेप्सेमा जान्छौं ।’- अध्यक्ष रानाभाटले भने ।

अनुमतिपत्र पाउन यस्ता छन् शर्तहरु

ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार अनुमतिका लागि निवेदन दिनुपूर्व लेखापरीक्षकबाट लेखापरीक्षण गराई खुद सम्पत्ति ५ करोडभन्दा बढी भएको एकीन गर्नुपर्नेछ । यो सम्पत्ति भनेको हाल न्यूनतम चुक्ता पुँजी २ करोड भएका कम्पनीहरुको हकमा २५० भन्दा बढीको प्रतिशेयर नेटवर्थ हो ।

सो भन्दा कम सम्पत्ति भएका ब्रोकरहरुको वर्किङ क्यापिटल मार्जिन कारोबारको लागि आवश्यकताअनुसार नहुने भएकोले त्यस्तो प्रावधान राखिएको हो । हाल ५० ओटा ब्रोकर कम्पनीहरुमध्ये आधाजसो बढी कम्पनीहरु मार्जिन कारोबारको लागि तोकिएको व्यवस्था पूरा गर्नसक्ने अवस्थामा रहेको अध्यक्ष रानाभाटको भनाई छ । यस्ता कम्पनीहरुले आफ्नो नेटवर्थको दोब्बरसम्म मार्जिन कारोबार गर्नसक्ने नियमावलीले व्यवस्था गरेको छ । त्यसका लागि योग्य शेयरको सूची तयार पार्ने क्रममा रहेकाे प्रवक्ता पराजुलीले जानकारी दिए ।

सबै शेयर कारोबार योग्य हुँदैनन्

नेप्सेले तोकेको मार्जिन कारोबारसम्बन्धी कार्यविधि १० हजार भन्दा बढी शेयरधनी भएको, पछिल्लो २ बर्षसम्म १० प्रतिशतभन्दा बढी लाभांश दिई चुक्ता पुँजीभन्दा नेटवर्थ बढी भएको तथा अघिल्लो वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र साधारणसभा गरेको र बजार खुलेको दिनमध्ये ८० प्रतिशत दिनमा शेयर कारोबार भएका कम्पनीका शेयरहरु मार्जिन कारोबारका लागि योग्य हुनेछन् ।

हाल बजारमा २१८ कम्पनीहरु सूचिकृत छन् । तीमध्ये आधाभन्दा कम कम्पनीहरुका शेयर मात्र त्यस्तो कारोबारका लागि योग्य रहने अवस्था देखिएको रानाभाटले जानकारी दिए । यद्यपि मार्जिन काराेबारका लागि याेग्य कम्पनीहरुकाे सूचीकरण भने नियावलीअनुसार नेप्सेले नै गर्नेछ ।

कति होला ब्याजदर ?

ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारका लागि बैंकहरुबाटै सापटी लिने योजना बनाएका छन् । नेटवर्थको दोब्बरसम्म ऋण दिन पाउने भएपछि ब्रोकरहरुले ‘वर्किङ क्यापिटल’ छुट्याएर बाँकी सम्पत्ति लगानी गर्ने र बाँकी बैंकबाट ऋण लिने योजना बनाएको समेत रानाभाटले बताए । ‘नेटवर्थको दोब्बरसम्म लेन्डिङ गर्ने भएपछि हाम्रो आधारभूत स्रोत बैंक नै हो, यद्यपि नेप्सेबाट मार्जिन कारोबारको स्वीकृत नै नपाएको अवस्थामा बैंकहरुसँग सम्झौता गर्नु हतार हुनसक्छ भनेर हामीले त्यतातिर ध्यान दिएका छैनौं । – उनले भने ।

‘बैंकबाट ऋण लिएरै लगानी गर्नुपर्ने भएकोले हाम्रो ब्याजदर केही बढी हुनसक्छ, तर हामीले थोकमा कर्जा लिने भएकोले केही सस्तो पाउन सक्छौं, ग्राहकको प्रक्रियागत खर्च र झन्झट कम हुने भएकोले हामीले लिने ब्याजदर ग्राहकले महँगो भएको अनुभव गर्ने किसिमको नहुने विश्वास छ ।’ रानाभाटले भने ।

नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबीच लामो समय मार्जिन कारोबारको विधि प्रक्रिया र ब्याजदर निर्धारणका सम्बन्धमा विवाद हुँदा लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो । तर मार्जिन कारोबार सञ्चालन र सुपरीवेक्षणसम्बन्धी अधिकार बोर्डलाई दिन राष्ट्र बैंक उदार भएसँगै यसको प्रक्रिया अघि बढेको हो ।

नेप्सेले गत बैशाखमा मार्जिन कारोबारसम्बन्धी कार्यविधि बनाए पनि त्यही विवादका कारण धितोपत्र बोर्डले मार्जिन कारोबार सञ्चालन गर्न एक महिना अघि मात्र निर्देशन दिएको थियो । सो निर्देशनबमोजिम नेप्सेले गत साता ब्रोकरहरुलाई मार्जिन कारोबार सञ्चालन अनुमति लिन आह्वान गरेसँगै यसको प्रक्रियगत कठिनाई अन्त्य भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.