बीमा संस्थानको बार्षिकोत्सवः रक्षामन्त्रीले भने- सरकारी स्वामित्वको संस्थान अग्रणी हुनुपर्छ

  २०७५ फागुन ११ गते १४:५०     विकासन्युज


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान प्रतिष्पर्धात्मक बजारमा अग्रणी हुनु पर्ने बताएका छन् । संस्थानको ५२ औँ वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले भने- संस्थागत विकासमा सरकार एक्लैले भन्दा पनि समस्या भएका पाटोमा समाधान सहितको खाका तयार पार्न सकेमा सफलता हात पार्न सहज हुन्छ ।

मन्त्री पोखरेलले आगामी दिनमा सरकारी स्वामित्वमा रहेको संस्थालाई अगाडि बढाउन भने हरेक तवरबाट अपटुडेट गराउनु पर्नेमा जोड दिए । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा राजश्व सचिव लालशंकर घिमिरे, नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाका सञ्चालक तथा निर्देशक लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले नियामकले गर्नुु पर्ने काम कर्तव्यमा अन्य संस्थाले भन्दापनि सम्बन्धित नियामकले नै कर्तव्य पूरा गर्दा राम्रो हुने बताए । पछिल्लो समय बैंकलाई ब्रोकर लाईसेन्स मात्र नभई बीमामा समेत सहभागी हुने भन्ने सन्दर्भमा बोल्दै उनले भने–‘गलत गरेको ठाउँमा हेर्ने नियामक भएकाले अन्य संस्थाहरुले बैंकले गर्ने बीमाका क्रियाकलापको सन्दर्भमा सबै काम नियम अनुसार नै हुने कुरामा ढुक्क हुन जरुरी छ ।’

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले भने–‘एक कप चिया खान छोडौँ बीमा गरौं, बीमाका कतिपय प्रिमियम यति सस्तापनि छन्, जो हरेक घरसम्म पुग्ने वातावरण बनाउन हामी लागि परेका छौँ ।’ कार्यक्रममा उपस्थित अर्थ मन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले प्रतिष्पर्धात्मक बजारमा राष्ट्रिय बीमा संस्थानले आफ्नो अग्रणी स्थान कायम गर्न सक्नु पर्नेमा जोड दिए ।

साथै, राष्ट्रिय बीमा संस्थानका नव नियुक्त अध्यक्ष धनीराम शर्माले संस्थाको प्रगतिमा मात्रै विकास सम्भव रहने कुरामा जोड दिए । उनले पुराना कर्मचारीको अनुभव र नयाँ कर्मचारीको जोसलाई समिश्रण गर्न अपरिहार्य रहेको बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताए । संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी १८ करोड १० लाख २० हजार रहेको जानकारी दिंदै उनले भने– ‘हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित तथा रहेको छन् भने यस बर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानकाकर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।’

यसै आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमाशुल्क संकलन गरिएको जानकारी दिंदै उहाँले एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको बताए । २०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी र दुई अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकाश कम्पनीमा एक अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा छ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको जानकारी दिए ।

सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो । विसं २०२४ साल पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रालि) स्थापना भई फागुन ११ गते देखि व्यावसायिक कारोबार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पौष १ गते संस्थानमा परिणत भएको संस्थान शनिबार स्थापनाको ५१ औं वर्ष पारगरी ५२ औं वर्ष प्रवेश गरको छ ।

स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ । देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउँ-गाउँ सम्म पुर्याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ ।

संस्थानको संस्थापक शेयर धनीको रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेड रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैँक तथा नेपाल बैक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत रहेको छ । संस्थानको आफ्नो सेयर पूँजी, दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल, बीमाशुल्क, पूनर्बीमा कमिशन नै संस्थानको आर्थिक श्रोतको आधार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.