कीर्तिपुरमा १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बन्दै

  २०७५ फागुन ९ गते १६:३०     विकासन्युज

काठमाडौं। कीर्तिपुर नगरपालिकाले १२ करोड लगानीमा २५ शैयाको हस्पिटल बनाउने भएको छ । नगरपालिकाले कीर्तिपुर नगरपालिका वडा नं ६ ईट्टागालमा हस्पिटल बनाउन लागेको हो ।

सामुदायिक सरकारी हस्पिटलका रुपमा २५ रोपनी क्षेत्रफलमा अस्पताल बन्न लागेको किर्तिपुर महानगरपालिका मेयर रमेश महर्जनले बताए । हस्पिटलले सबै किसिमको सेवा सुविधा दिने मेयर महर्जनले बताए ।

कीर्तिपुर स्थित बिष्णुदेवी हेल्थपोस्टको शाखाको रुपमा उक्त हस्पिटललाई विस्तार गर्न लागेकाे हाे । नजिकै दुईवटा हस्पिटल भएकोले अन्य ठाउँका मानिसहरुलाई पनि सजिलैसँग सेवा उपलब्ध होस् भन्ने उदेश्यको साथ उक्त हस्पिटलको शाखाको रुपमा ईट्टागलमा अस्पताल बन्न लागेको मेयर महर्जनले बताए । हस्पिटल बनेपछि वडा नं ४,५,६,८ को सेवाग्राहीहरुले सजिलै सेवा पाउने मेयर महर्जनले विश्वास व्यक्त गरे ।

चारै नाकामा हस्पिटल बन्दै

काठमाडाैं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ ओटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएकाे छ । काठमाडाै‌काे पूर्वतर्फ भक्तपुरकाे साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको छ ।

उक्त हस्पिटल थापाथलीस्थित प्रसूति गृह हस्पिटलकाे शाखाको रुपमा विस्तार गरिन लागेकाे हाे । प्रसुति गृहमा बिरामीको अत्यधिक चाप रहेकाे र उपत्यका बाहिरबाट आउने बिरामीहरु ट्राफिक जामका कारण ढिलाेमात्र अस्पताल पुग्नाले मातृ शिशुकाे स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै मृत्युदर समेत उच्च हुने गरेकाेले नाकाहरु मै अस्पताल खोलेर सेवा दिन लागिएकाे बताइएकाे छ ।

पहिलाे चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेकाे थानकाेट क्षेत्रमा हस्पिटल बनाइने बताइएकाे छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गाैतमकाे नेतृत्वमा गएकाे जर्मन विज्ञ टाेलीले सम्भाव्यता अध्ययन समेत गरेर गएकाे मेयर घनश्याम गिरीले बताए ।

उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएकाे छ । हाल नगरपालिकाकाे स्वामित्वमा थानकाेटमा ८ काेठे भवनसहितकाे जग्गा छ । त्याेसँगै अर्काे भवन बनाएर हस्पिटल सञ्चालन गर्ने याेजना रहेकाे मेयर गिरीकाे भनाई छ ।

उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि विस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयराेग लगायतका सेवा समेत  उपलब्ध गराउने छ । काठमाडाै‌ंकाे भित्रने र बाहिरिने सबैभन्दा बढी चाप याे नाकामा रहेकाेले पहिलाे चरणमा याे क्षेत्रलाई लिइएकाे हाे । हस्पिटल बनेपछि उपत्यका बाहिरका सेवाग्राहीहरुले समय मै सेवा पाउने विश्वास मेयर गिरीले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.