आर्थिक रुपान्तरणका लागि ढोका खुल्योः राष्ट्रपति भण्डारी

  २०७५ फागुन ७ गते १८:०८     विकासन्युज

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।

‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन् ।

मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विसं २०१५ साल फागुन ७ गते आमनिर्वाचन आरम्भ भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको जानकारी दिँदै आयोगको कार्य सम्पादनका लागि १० ऐन, आठ नियमावली तथा नीति निर्देशिका र आचारसंहिता रहेको बताए । नेपालको संविधानको सफल कार्यान्यवनका लागि तीन चरणको निर्वाचनपछि ऐतिहासिक सफलता मिलेको बताउँदै उनले नेपाली जनतालाई समृद्ध बनाएर सुखी नेपाली बनाउन मुलुक अग्रसर रहेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा निर्वाचन आयुक्त इला शर्माले प्रजातन्त्र दिवसका अवसरमा निर्वाचन दिवस मनाउन पाउँदा यसको महत्व अझ बढेको उल्लेख गर्दै निर्वाचन स्वतन्त्र र मर्यादित बनाउन आयोगले रणनीतिक योजना निर्माण गरी सुधारका काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत उच्च पदस्थ कर्मचारी, सुरक्षा प्रमुख, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.