विस्थापित नगरी आन्तरिक परीक्षामा सहभागी गराउन माग

  २०७५ माघ २६ गते १६:१५     विकासन्युज


काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रिय संघर्ष समिति-२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधि कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो । समितिले सेवाबाट अवकास लिन चाहाने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्नपनि माग गरेको छ । समितिका संयोजक हेमनाथ चौलागाँईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाईने बताए । उनले भने,‘यदि सरकारले अस्थायी शिक्षकहरुलाई विस्थापित गर्यो भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं ।’

उनले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्नेमा जोड दिए । उनले भने,‘अघिल्लो पटक आन्तरिक परीक्षामा सहभागी हुनबाट बञ्चित गराईएकाहरुलाई पनि पुनः आन्तरिक परीक्षामा सहभागी गराउनु पर्छ ।’

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपालबहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।

समितिले यही माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन, फागुण १ गते शिक्षक महासंघको कार्यालय घेराउ गर्ने र फागुण २ गते धुम्बराहीस्थित नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रमपनि राखेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.