सगरमाथाको उचाई ४० प्रतिशत नापियो, अब कति अग्लो होला ?

  २०७५ माघ ३ गते १०:४१     विकासन्युज

काठमाडौं । सगरमाथाको उचाई नाप्ने काम करिब ४० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सन २०१८ को जनवरीदेखि सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको थियो । सन २०२० को जनवरीमा उचाई नापी सक्ने योजना अनुसार काम अघि बढेको र हाल करिब ४० प्रतिशत काम सम्पन्न भैसकेको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए । ‘धेरै समय लाग्ने खालका काम सम्पन्न भैसकेका छन्, अब थोरै समयमा सकिने तर प्राबिधिक खालका काम बाँकी छन्’, नापी विभागका प्रवक्ता ढकालले विकासन्युजसँग भने ।

विभागले सगरमाथाको ग्राभिटी नाप्ने यन्त्र खरिदका लागि सूचना प्रकाशित गरेको छ । त्यस्तै, सगरमाथाको शिखरमा जडान गरिने उपकरणहरु बोकेर लैजाने जनशक्ति पनि माग गरेको छ । ‘ग्राभिटी नाप्ने उपकरण मागेका हौं, र केहि उपकरण बोकेर सगरमाथाको शिखरमा पुग्ने मानिस पनि चाहिएको छ’, प्रवक्ता ढकालले भने । सगरमाथाको उचाई नाप्न ४ वटा सर्भे गर्नुपर्छ । त्यसमध्ये हाल ३ वटा सर्भेका काम भैरहेका छन् ।

सगरमाथाको उचाई नाप्न बंगालको खाडीदेखि सिरहाको माडर सिमा हुँदै मिर्चैया, उदयपुर घुर्मिबाट सोलुखुम्बुको अलाइनमेन्ट बनाएर सगरमाथाको उचाई नाप्न लागिएको छ । त्यसका लागि सगरमाथा आसपासका १२ वटा स साना चुचुरोहरुलाई आधार बनाईएको छ ।

बंगालको खाडीदेखि सिरहाको माडर सिमासम्म भारतले उचाई नापिदिने छ भने नेपाल भूभागमा नेपाल आफैंले नाप्नेछ । ‘हामीले उचाई नाप्ने मेसिन चलाउने काममा कुनै पनि विदेशीलाई लिँदैनौं, तथ्यांक निकालेपछि त्यसको विश्लेषणमा भने भारत र चीनका विज्ञहरुको सहयोग लिन सकिन्छ तर यसपाली सगरमाथाको उचाई हामी आफै नाप्छौं’, प्रवक्ता ढकालले भने ।

विभागले समतलन नापी(लेभलिङ सर्भे), ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम(जीएनएसएस) र ग्राभिटी सर्भे मार्फत सगरमाथाको उचाई नाप्न लागेको हो । संसारकै सबै भन्दा अग्लो शिखर सगरमाथाको उचाई हाल ८ हजार ८ सय ४८ मिटर रेकर्ड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.