मेलम्चीको काममा फर्कन सीएमसीले राख्यो ३ बुँदे शर्त, कम्पनीले भन्यो- नेपाल बाहिर मात्रै वार्तामा बस्छौं

  २०७५ माघ १ गते १३:१४     विकासन्युज


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले काममा फर्कका लागि ३ बुँदे शर्त राखेको छ । इलालियन कम्पनी सीएमसीले गत शुक्रवार आयोजनालाई इमेल मार्फत पत्र लेख्दै काममा फर्कनका लागि ३ बुँदे शर्त राखेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेलका अनुसार निर्माण कम्पनीले ३६ करोड रकम भुक्तानी पाउनु पर्ने, कामदारको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने र आयोजना–कम्पनीबीचको वार्ता विदेशमा हुनु पर्ने शर्त राखेको छ ।

ठेकेदार कम्पनी सीएमसीले ३६ करोडको नयाँ बखेडा झिकेपछि आयोजनाको काम पुस २ गतेदेखि अवरुद्ध रहेको छ । भूकम्पका कारण कामको प्रकृति बदलिएर बढी दायित्व परेको भन्दै कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ अतिरिक्त भुक्तानी मागेको थियो ।

कन्सल्टेन्टले २८ करोड अतिरिक्त दायित्व बढेकाले भुक्तानी दिनुपर्ने भनेको थियो । सोही अनुसार आयोजनाले ठेकेदार कम्पनीलाई सो मात्रामा भुक्तानी पनि गरिसकेको थियो, तर ठेकेदारले डिस्प्युट एडमिनिट्रेसन बोर्डमा उजुरी दियो । बोर्डले थप ३६ करोड दिनु पर्ने निर्णय सुनाएको थियो ।

आयोजना र सीएमसी कम्पनीबीच विवाद चलिरहँदा १७ डिसेम्बरमा सीएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । मेलम्ची आयोजनाले सीएमसीको बैंक खाता रोक्का गर्न पत्राचार गरेपछि सिएमसीले २१ डिसेम्बर मै पत्र लेखेर ठेक्का तोडेको पूर्व पत्र फिर्ता लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.